News Portal

राजमार्ग अवरोध हुने गरी अप्टिकल फाइबर बिछ्याइयाे, स्थानीयको विरोध

रातोपोस्ट संवाददाता
५४९ पटक

झापा,२९ पुस । मेची राजमार्गमा नेपाल दुरसंचार प्राधिकरणको अप्टिकल फाइबर बिछ्याउँदा लापरवाही भएको भन्दै स्थानीयले विरोध
गरेका छन् । मेची राजमार्ग अन्तर्ग इलामको रोङ गाउँपालिकाको करिब २० किलोमिटर सडक क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउँदा सामान्य सतर्कता समेत नअपनाएको भन्दै स्थानीयले विरोध गरेका हुन् । मेची राजमार्गमा टेलिकमको फाइबर बिछ्याउने जिम्मा कोरियन कम्पनी एलएस क्याबेल सिस्टम प्रालिले पाएको छ ।

तर, सामान्य सावधानी पनि नअपनाई मेची राजमार्ग अस्तव्यस्त बनाएर गुणस्तरहिन काम गरेको भन्दै रोङका स्थानीयले संघर्ष समिति बनाएर काम गर्न अवरोध गरेका छन् । कम्पनीले टेलिकमको फाइबर सडकको नाली खोतलेर त्यहीँ बिछ्याइरहेको छ । ‘समयमा गुणस्तरीय काम गर्न सक्दैनन् भनेर विदेशी कम्पनीलाई निर्माणको जिम्मा दिएको होला । तर, नेपाली ‘घ’ वर्गको नेपाली व्यवसायीकाे भन्दा कमजोर व्यवस्थापन छ’, संघर्ष समिति संयोजक रोङ–३ का कुमार ढुंगेलले भने, ‘प्राधिकरणको प्राविधिक कहिल्यै आउँदैनन् ।

कोरियन कम्पनीले नाफा खाएर नेपाली व्यवसायीलाई ठेक्काको जिम्मा दिएको छ । योभन्दा कति लापरवाही होस् ।’  विदेशी कम्पनीले भाइब्रेट र मिक्चरबिना ग्यालीनमा पानी बोकेर ल्याएर ढलाई गरेको उनले बताए । पिसीसी पनि हातले लेभल मिलाएको पाइएको उनले बताए । वर्षौँसम्म राजमार्ग अवरोध हुने गरी काममा लापरवाही गरेको उनले आरोप लगाए । ‘मेची राजमार्ग व्यस्त राजमार्ग हो । बर्खामा नाली भत्काएर पहिरो गयो । अहिले त्यतिकै बाटोमा निर्माण सामग्री छ । जसका कारण दुर्घटनाको जोखिम उच्च छ’, उनले भने, ‘त्यही भएर हामी आन्दोलन गर्न बाध्य भयौँ।’ तत्काललाई निर्माण कार्य मात्र रोकिएको र वार्तामा नआए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।

राज्यको करौडौँ लगानीमा विदेशी कम्पनीले गुणस्तरहिन काम गरेका कारण निर्माण कार्य बन्द गरेर आन्दोलनमा उत्रनु परेको रोङ–३ का एग अर्यालले बताए । ‘गुणस्तरको सवालमा व्यापक अनियमितता भएको छ । हेर्दा सडकमा धुलो उडेको देखिए पनि काम गुणस्तरहिन भएको छ । समयमा काम नसक्दा जोखिम उस्तैछ’, उनले भने, ‘तत्काल जोखिम न्यूनीकरणका लागि काम नगरे चरणबद्ध आन्दोलन गर्छौँ ।’

सार्वजनिक सडक ऐनको धज्जी उडाइयो : गाउँपालिका अध्यक्ष राई
रोङ गाउँपालिका अध्यक्ष शमशेर राईले विदेशी निर्माण कम्पनीले सार्वजनिक सडक ऐनको धज्जी उडाएको बताए । ‘सार्वजनिक सडक ऐन २०३१ को दफा १८ र १९ मा जथाभावी नाली र सडक भत्काई सडक अवरुद्ध गर्न पाइँदैन । तर, मेची राजमार्गमा यसको धज्जी उडाइएको छ’, अध्यक्ष राईले भने, ‘जथाभावी निर्माण सामग्री राखिएको छ । काम पनि सुस्त गतिमा गरेको छ । विदेशी कम्पनीले ऐन मिच्दा नियामक निकाय मुकदर्शक बनेका छन् ।’ गाउँपालिकासँग समन्वय नगरी काम भएको हुँदा जनतालाई जवाफ दिन पनि समस्या भएको गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले बताइन् ।

कोरियन कम्पनीले मजदुरलाई दिएन ज्याला, वडामा उजुरी

काेरियन कम्पनी एलएस क्याबेल सिस्टम प्रालिले नेपाली निर्माण व्ययसायीलाई पेटी ठेक्का दिएको छ । काम सुस्त गतीमा मात्र नभएको हैन निर्माणमा संलग्न मजदुरले पनि ज्याला पाएका छैनन् । मजदुरले निवेदन दिएपछि वडामा छलफल गरेर पुस ९ गतेसम्म ज्याला दिने निर्माण कम्पनीका प्रतिनिधिसँग सहमति गरेको रोङ– ३ का वडाध्यक्ष मातृका बरालले बताए । तर, त्यो समयमा पनि ज्याला नदिएर पुस २५ मा भाका सारेको उनले बताए । विदेशी कम्पनीले निर्माणको काम गर्नुको सट्टा क्षति पुर्‍याएको दाबी गरे । ‘मेची राजमार्गको रोङ खण्डमा दुइवटा सडक बत्ती फुटाउँदा १५ दिन हिरासतमा बसेर ८० हजार जरिवाना गराई छाडेको नजिर छ । विदेशी कम्पनीले सडकमा क्षति पुर्‍याउँदा कारबाही के हुन्छ हेर्न बाँकी  छ’, उनले भने, ‘यस्तै लापरवाही गरे अझै कडा आन्दोलन हुन्छ । यसमा जनप्रतिनिधिको पनि साथ रहन्छ ।’ सडकमा जथाभावी निर्माण समाग्री थुपारेर सडक अस्तव्यस्त बनाउँदा जनप्रतिनिधि नै आन्दाेलन गर्न बाध्य हुनुपरेको रोङ–४ का वडाध्यक्ष सूर्य राईले बताए । पटक–पटक पत्रचार गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएको उनको आरोप छ ।

काममा ढिलासुस्ती भएकै छ : प्रमुख जिल्ला अधिकारी सेडाई
इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले काममा ढिलासुस्ती भएको बताए । काम गर्दा मेची राजमार्गमा दुर्घटना जोखिमसमेत बढाएकाले जनताको गुनासो आएको उनको भनाई छ । ‘टेलिकमको निर्माणको काम काठमाडौंबाटै हेरिने रहेछ । मैले जानकारी गराएको छ । ढिलासुस्ती भएको छ । दुर्घटना भएर केही भयो भने तपाईंको जिम्मेवारी हुनेछ पनि भनेको छ’, उनले भने, ‘उहाँहरूले आएर जनतासँग वार्ता गरेर काम अघि बढाउने प्रतिवद्धता मसँग व्यक्त गर्नुभएको छ ।’

प्रतिकृया दिनुहोस्