News Portal

काँकरभिट्टामा भ्यू टावरको शिलान्यास

रातोपोस्ट संवाददाता
४३४ पटक

झापा, २ माघ । झापाको मेचीनगर नगरपालिका —६ काँकरभिट्टास्थित शिवालय मन्दिर परिसरमा निर्माण हुने भ्यू टावरको विहीबार शिलान्यास गरिएको छ ।

१ नम्बर प्रदेश सरकारको उद्योग, वन, तथा वातावरण मन्त्रालय र मेचीनगर नगरपालिकाको लागत सहभागितामा निर्माण हुन लागेको भ्यू टावरको १ नम्बर प्रदेश सभा सदस्यत्रय श्रीप्रसाद मैनाली, गोपालचन्द्र बुढाथोकी, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती , नेपाली कांग्रेसका नगर सभापति इन्द्र बुढाथोकी, नेकपाका नगर इञ्चार्ज देबकुमार राई, जनता समाजबादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ र राप्रपाका नगर अध्यक्ष सुशिल आचार्यले भ्यूटावरको संयुक्त रुपमा शिलान्यास गरेका हुन्  ।

मेचीनगर नगरपालिका वडा नं. ६ को सबैभन्दा अग्लो स्थानमा रहेको शिवालय मन्दिर परिसरमा शिलान्यास भएको ११ तलाको भ्यूटावर निर्माणको कूल लागत रु. ४ करोड ५३ लाख ४७ हजार ३७० रहेको आयोजना प्रमुख इन्जिनियर कमलप्रसाद कोइरालाले जानकारी दिए । कनकाई इन्टरनेसनल बिल्डर्स प्रालिले निर्माण कार्यको ठेक्का पाएको छ । आयोजना प्रमुख कोइरालाका अनुसार २०७८ मङ्सिर २८ गते काम सम्पन्न गरिसक्नु पर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

झापामा यस अघि बुद्धशान्तिको धारागोलामा पाँच तले भ्यूटार निर्माण भइसकेको छ भने दमकमा नेपालकै सबैभन्दा ठूलो भ्यूटावर निर्माणाधीन अवस्थामा रहेको छ । मेचीनगर मुलुककै प्रवेश नाकामा रहेको सहर भएकाले यहाँ पर्यटकीय विकासका पूर्वाधारको निर्माणमा बिगतदेखि नै जोड दिइँदै आएको छ ।

प्रतिकृया दिनुहोस्