News Portal

मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस

रातोपोस्ट संवाददाता
६८९ पटक

काठमाडौँ, ९ माघ  । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेस भएको छ ।

शुक्रवार बसेको प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले सांसद अरुण नेपाललाई मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गर्न अनुमति दिएका हुन ।

अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गर्दै पूर्व उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्रीसमेत रहेका नेपालले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा प्रदेशलाई स्थापित गर्नबाट चुकेको, कोरोना महामारीमा प्रदेश सरकारको भूमिका कमजोर रहेको र प्रदेशप्रति जनताको विश्वास कमजोर बन्दै गएको कारण अविश्वासको प्रस्ताव दर्ता गरिएको बताए ।

सदनमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको समेत उनले बताए । अब प्रदेश सभाको माघ  १९ गते २ बजे बस्ने बैठकमा अविस्वास प्रस्तावमाथि छलफल हुनेछ ।

प्रदेश सभाका सभामुख श्रेष्ठले अर्को बैठकमा छलफल गर्ने गरि शुक्रवारका लागि बैठक सकिएको जानकारी गराएका थिए । गएको पुस १० गते सत्तारुढ नेकपाका प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।

प्रतिकृया दिनुहोस्