News Portal

  • यौन हिंसा: ‘पुरुषहरूले बलात्कार किन गर्छन्’ भनेर सोध्ने महिलाहरू

    बीबीसी
    १६६ पटक

    बलात्कारी पुरुषहरूसँगको अन्तर्वार्ताले तारा कौशलको अवस्थामा गहिरो असर पारेको छ।

    सन् २०१७ मा अध्ययन थाले यता उनले डिप्रेसन लगायतका समस्या भोगेकी छन्। केही दिन उनले रोएरै मात्रै पनि बिताएकी छन्। अध्ययन सुरु गर्नुअघि नै ताराले यौन हिंसाको आघात बेहोरेकी थिइन। १६ वर्षको छँदा उनले यो विषयमा कुराकानी गर्न सुरु गरेकी थिइन।

    “चार वर्षको उमेरमा मेरो बलात्कार गरिएको थियो,” उनले आफ्ना अभिभावकहरूलाई भनिन्। “त्यसो गर्ने माली थियो।” त्यो भनाइले उनका अभिभावक आश्चर्यचकित परे। तर यो उनका लागि एउटा बाँध टुटे सरह थियो। त्यसपछि उनले आफूले भोगेको यौन दुर्व्यवहारबारे खुलेर कुरा गर्न थालिन। पछि उनले किताब समेत लेखिन्।

    ‘पत्ता नलागेका’ बलात्कारीहरू
    सन् २०१२ मा २३ वर्षकी विद्यार्थीको राजधानी दिल्लीमा गुडिरहेको बसमा बलात्कार भएसँगै बलात्कार र यौन हिंसाको विषयले प्राथमिकता पाउन थालेको थियो। ती घाइते युवतीको केही दिनमा मृत्यु भयो। बलात्कारीहरूलाई सन् २०२०को मार्चमा फाँसी दिइयो।

    भारतमा यौन अपराधका विषयमा छानबिन बढेको भए पनि आक्रमण बढ्दो क्रममै छ। न्याश्नल क्राइम रेकर्डस् ब्युरोका अनुसार भारतमा सन् २०१८ मा ३३,९७७ बलात्कारका घटना दर्ता भएका थिए। तर त्यस्ता घटनाका साँचो सङ्ख्या भने निकै बढी हुन सक्ने अनुमान गरिन्छ किनकि धेरै त्यस्ता घटनाहरूबारे उजुरी दिइँदैन।

    ताराले सुरक्षा सतर्कता अपनाउँदै गोप्य अनुसन्धान गरेकी थिइन् । तारा अनुसन्धानको दायरामै नआएका वा अपराधी ठहर नगरिएका बलात्कारीहरूबारे थप जानकारी लिन चाहन्थिन्। त्यसक्रममा उनले देशभरि नौ पुरुषसँग भेट गरिन्।

    आफ्नो पहिचान नखुलाई उनले ती पुरुषहरूसँग अन्तर्वार्ता गर्नुका साथै उनीहरूको परिवार अनि साथीहरूलाई समेत नियालिन्।

    “मैले सोधेका २५० प्रश्न अनि उनीहरूलाई नियाल्दा पाएका कुराहरू समान छन्। तर मैले उनीहरूले बलात्कार गरेको थाहा पाएकाले उनीहरूबारे अध्ययन गरिरहेको कहिल्यै भनिन,” उनले लेखेकी छन्।

    ‘सहमतिबारे थाहा नहुनु’
    ताराले सम्भावित सबै खाले परिस्थितिका लागि आफू तयार रहेको सोचेकी थिइन। आँखामा जलन पैदा गर्ने स्प्रेदेखि स्थानीय स्तरमा आपत्कालीन अवस्थाका लागि आवश्यक व्यक्ति अनि आफ्नो स्थानबारे थाहा गराउनका लागि ह्वाट्सएप ग्रुपमा प्रत्यक्ष रूपमा स्थानबारे जानकारी गराउने व्यवस्था उनले मिलाएकी थिइन्।

    तर अन्तरवार्ता गरिएका तीन पुरुषले कुराकानीकै क्रममा आफैलाई प्रभाव पार्न सुरु गर्नेछन् भन्ने उनले कल्पना समेत गरेकी थिइनन्। प्राय यौन दुर्व्यवहार अपरिचित व्यक्तिहरूबाट हुन्छ भन्ने धेरैलाई लाग्ने गर्छ, यस्ता अनुभवले उनको मानसिक स्वास्थ्यमा प्रभाव पार्‍यो।

    अध्ययनको अन्त्यसम्म ताराले के बुझिन् भने “ती पुरुषहरूलाई सहमति वा बलात्कारबारे ज्ञान थिएन।”

    बलात्कारीहरूलाई ‘अरू’का रूपमा हेर्दै
    अध्ययन सुरु गर्दै गर्दा ताराले सामाजिक सञ्जालमा लैङ्गिक हिंसाबारे महिलाहरूसँग कुराकानी गरेको थिइन। “मैले कुरा गरेका दुई पुरुष तिनै महिलाहरूसँगको कुराकानीका आधारमा फेला परेका थिए,” उनले भनिन्। अन्य सात पुरुष फेला पार्न भने उनले स्थानीय प्रहरीदेखि सञ्चारमाध्यम अनि खुफिया निकायहरूको सहारा लिइन।

    धेरैले आफूले एक वा एकभन्दा बढी बलात्कार गरेको स्वीकार गरेको उनी बताउँछिन्। तारा र मधुमिता दुवै ती परुषहरूको महिलाहरू प्रतिको दृष्टिकोण बुझ्न चाहन्थे। दोषी ठहर भइसकेकाहरूसँग कुरा नगर्ने गरिएको आफ्नो निर्णय उनी बताउँछिन्। तर सेफिल्ड हलम विश्वविद्यालयमा क्रिमिनोलोजि पढाउने अध्यापक डा. मधुमिता पाण्डेले भने अपराधी ठहर भएकाहरूमा आफ्नो अध्ययन केन्द्रित गर्ने निर्णय गरिन्। उनले सन् २०१२को बलात्कारको घटना पछि उक्त कार्य सुरु गरिन्।

    ‘बलात्कारी जो कोही हुन सक्छ’
    दक्षिण एशियाकै ठूलोमध्ये एक मानिने दिल्लीको तिहाड जेलमा मधुमिताले १०० भन्दा बढी अपराधीको अन्तर्वार्ता गरिन्। बलात्कारी सबैको आफ्नै कथा थियो।

    एक जना मन्दिर सफा गर्ने व्यक्तिले पाँच वर्षकी बालिकाको बलात्कार गर्न आफूलाई ‘उत्तेजित पारिएको’ बताए। बलात्कृत पाँच वर्षकी बालिकाकी आमाले गरेको सङ्घर्षको कथाले मधुमितामा गहिरो प्रभाव पारेको थियो । यो कथा सुनेपछि मधुमिताले ती बालिकाको परिवारसँग भेट्ने निर्णय गरिन्।

    “आफ्नी छोरीको बलात्कार भएको सुनेपछि उनका पिता मानसिक रूपबाट कमजोर हुन पुगेछन् र परिवार समेत त्याग गरेछन्,” मधुमिताले भनिन्। उनले अपराधी पुरुषहरूको महिलाहरूप्रतिको दृष्टिकोण र कसरी यो सोचले यौन हिंसा अन्त्य गर्न सहयोग गर्छ भन्ने बुझ्न चाहेकी थिइन्। उनको अध्ययनले पनि बलात्कारी पुरुषहरूमा सहमतिबारे जानकारी नभएको देखायो।

    के मृत्युदण्ड उत्तर हो?
    बलात्कारको दर उच्च रहने देशको सूचीमा भारत एक्लै छैन। तर पितृसत्तात्मक समाज जस्ता कारणले समस्या अझ विकराल बनाइरहेको धेरैको विश्वास छ।

    भारतमा सन् २०१२ को सामूहिक बलात्कारको घटना पश्चात् सरकारले कडा कानुन ल्याएको थियो। तर तारा र मधुमिता दुवै के कुरामा सहमत छन् भने मृत्युदण्डले दीर्घकालीन रूपमा समस्याको समाधान गर्दैन। पुरुषहरूलाई बच्चादेखि नै राम्रो ज्ञान दिइनुपर्ने उनीहरूको मत छ।

    ताराले अन्तर्वार्ता लिएका विभिन्न सामाजिक वर्गका पुरुषहरू कसैले पनि विद्यालयमा यौन शिक्षा नपाएको देखिएको छ। तीमध्ये धेरैले बाल्यकालमा हिंसा देखेको पाइएको छ।

    पुरुषहरूले बलात्कार किन गर्छन्?


    “जटिल प्रवृत्तिको अपराध भएकाले यसको एउटै उत्तर छैन,” मधुमिताले भनिन्। “सबै कथा अनौठा छन् र तिनको आआफ्नै व्याख्या छन्। केही सामूहिक बलात्कारमा संलग्न भएका थिए, केहीले पीडित चिनेका थिए भने अन्य केहीले पूर्ण रूपमा अपरिचितलाई बलात्कार गरेका थिए। बलात्कारीहरूको प्रकार पनि फरकफरक छ।”

    तर यस्ता मानिसहरू – श्रीमान्, मिल्ने साथी, प्रेमी वा सहकर्मी जोसुकै हुन सक्नेमा उनले जोड दिएकी छन।
    पुरुषहरूले किन बलात्कार गर्छन् भन्ने विषयको उत्तर छैन।

    “देशका धेरै मानिसहरू जस्तै मैले पनि जेलभित्र कस्तो होला भनेर अनुमान गरेकी थिए र ती बलिउड चलचित्रहरूमा मैले देखेको कुरामा आधारित थिए,” उनले भनिन्।

    “शरीरमा दाग वा घाउ भएका डरलाग्दा धर्के लुगा लगाएका व्यक्ति। उनीहरूले मसँग दुर्व्यवहार गर्लान् वा मबारे अनुचित प्रतिक्रिया जनाउलान् र त्यसले मलाई असहज बनाउला भन्ने सोचका कारण म डराएकी थिए।” तर उनले चाँडै के बुझिन् भने उनीहरू त्यस्ता थिएनन्।

    “कुराकानी गर्दै मैले जति धेरै समय उनीहरूसँग बिताएँ, उनीहरूको कथा सुने त्यति नै मलाई उनीहरू कम अनौठो लाग्न थाल्यो। र यही कुरा हामी सबैले बुझ्न जरुरी छ।”

    प्रतिकृया दिनुहोस्