News Portal

महासचिव विप्लवले दिए श्रमिक दिवसको अवसरमा मजदुरलाई शुभकामना

रातोपोस्ट संवाददाता
७५७ पटक

काठमाडौं, १८ बैशाक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उन्नत मानव जीवनका लागि श्रम र विद्रोह श्रमिक वर्गका बाध्यता र अधिकार भएको जनाएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले १३२औं श्रमिक दिवसको अवसरमार शुभकामना दिदै श्रमिकहरू केवल उत्पादनका औजार मात्र नभई समृद्धिका स्रोतसमेत भएको बताएका हुन् ।

त्यस्तै, महासचिव ‘विप्लव’ले जीवन र समाजलाई परिवर्तन गर्ने जिम्मेवारी आउँदा मजदुरहरूले श्रमसँगै विद्रोह गर्ने र नयाँ समाजको निर्माण गर्ने अग्रगामी भूमिका पूरा गर्नै पर्ने पनि बताएका छन् । त्यस्तै उनले नेपाल ऐतिहासिक रूपान्तरणको सम्भावनाबाट अघि बढिरहेको र यहाँको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था व्यवहारमा पनि असफल भइरहेको बताएका छन् । साथै, आफ्नो सङ्कट टार्न साम्राज्यवादी शक्तिहरूको निर्देशनमा अनेकौं जालझेल भइरहेको पनि उनको ठम्याइ छ ।

उनले भनेका छन्, ‘नेपालका मजदुर, किसान र आमश्रमिकहरूले बुझ्नैपर्छ, आवश्यकता आमूल परिवर्तन र वैज्ञानिक समाजवादको छ । यसका लागि हाम्रो पार्टीले संसदीय सरकारको ठाउँमा आम प्रगतिशील, वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, कम्युनिस्टहरूको राजनीतिक समीक्षा सभा, प्रगतिशील संयुक्त सरकार र दलाल पुँजीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवादी सत्ताको विकल्प पेस गरेको छ ।’

त्यस्तै, उनले विश्वभर पैदा भएको पुँजीवादी सङ्कटले साबित गर्ने बताउँदै मानव जातिको उन्नत जीवनका लागि वैज्ञानिक समाजवादबाहेक अर्को कुनै विकल्प नभएको बताएका छन् । यसैबीच उनले राष्ट्र परिवर्तन गर्नका लागि ऐतिहासिक जिम्मेवारी बहन गर्दै क्रान्तिकारी पूर्वजहरूको पदचापमा एकताबद्ध भएर निर्भिकतपूर्वक अगाडि बढ्न सबैलाई आग्रहसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्