News Portal

कृषिमा कोरोना कहर : बजार नपाउँदा बारीमै कुहियो तरकारी र फलफुल !

रातोपोस्ट संवाददाता
५७० पटक

झापा, जेठ ४ । कोरोना भाइरसको दोस्रो लहर बढेसँगै  देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा जारी भएसँगै झापा किसानहरूले आफ्नो बारीमा फलाएका तरकारीले बजार नपाउँदा तरकारीहरु बारीमै कुहिन थालेका छन् । यसअघि जिल्लाका किसानहरुले आफूले उत्पादन गरेका तरकारी  जिल्लाहरुमा बेच्ने गर्दथे । तर कोरोना कहर र निषेधाज्ञाका कारण सहज ढुवानी हुन नसक्दा किसानका उत्पादन बारीमै कुहिन थालेका हुन् ।

निषेधाज्ञासँगै  बजारहरु बन्द रहेकाले तरकारीको माग पनि घटेकाले पहिला पहिला घरमै आएर तरकारी लैजाने व्यापारीहरुले पनि नलगेको किसानहरुको भनाइ छ । यता जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभर विभिन्न स्थानहरुमा सञ्चालन हुँदै आएका सम्पूर्ण हाट बजार एकसाता अघिदेखिनै बन्द गराएपछि उनीहरुले स्थानिय बजारमा पनि लगेर आफ्ना उत्पादन बेच्न नपाएको गुनासो गरेका छन् । स्थानिय हाट बजारमा लगेर भएपनि तरकारी बेच्न पनि नपाएपछि किसानहरु थप मार्कामा परेका स्थानियको गुनासो छ ।

किसानहरुको बारीमा अहिले काँक्रो, फर्सी, लौका, बोडी , करेला, खुर्सानी, भान्टा, टमाटर, साग लगायतका तरकारीहरु फलेका छन् । गतवर्ष पनि यसै सिजनमा लकडाउन भएपछि जिल्लाका अधिकांश किसानहरुले उत्पादन गरेका तरकारीहरु बजारसम्म पुर्याउन नपाउँदा जिल्लाभर कराेडौँ मूल्य बराबरको तरकारी बारीमै कुहिएर गएका थिए ।

यस्तै, मेचीनगरका दुई युवाले पनि अन्नबाली उत्पादन हुने उर्भर भूमिमा त्यसको बिकल्पमा व्यवसायिक कागतीखेती शुरु गरेका थिए । मेचीनगरका चन्द्र पौडेल र सौरभकुमार कानुले संयूक्त रुपमा एक करोड बढीको लागतमा मेचीनगर- १४ मा व्यवसायिक कृषि फार्म सञ्चालन गरेका छन् ।अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती खेतीमा लागेको सञ्चालक चन्द्र पौडेलले बताए ।

दश बिघा जग्गामा मोडर्न एग्रिकल्चर फार्म दर्ता गरी व्यवसायिक कृषिमा लागेका उनिहरुको अहिले सात बिघाबढीमा कागती र मेवा तथा करिब तीन बिघा जग्गामा खर्बुजो लगाएका छन् । बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि व्यावसायिक तवरले कागती खेती गरेको अर्का सञ्चालक सौरभकुमार कानुले बताए । पछिल्लो समय कोरोना संक्रमणले गर्दा उत्पादन भएका सामाग्री बजारमा लागेर बिक्रि गर्न नपाउदा आफुहरुलाई धेरै घाटा भएको कानुले बताए । लगानी त छदै छ त्यसमा पनि ८/१० जना मजदुरले बर्षभरी गरेको कामको तलब खुवाउन पनि अहिले समस्या भएको सञ्चालक पौडेलले दुखेसो गरे । उनले भने सहज वातावरण भए बजारमा बिक्रि गर्न पाउदाँ उत्पादन भएका सामाग्रीले यो सबै समस्या हल हुने थियो । तर फार्ममा तयारी अवस्थामा रहेका उत्पादनहरु काेरोनाले बजार नपाँउदा समस्या भएको त्यसमा पनि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेपछि उत्पादन भएका फलहरु बारीमा नै बिग्रीन थालेको उनले बताए ।

प्रतिकृया दिनुहोस्