News Portal

मेची अञ्चल अस्पतालमा अब दुई सय शैयाको बेड हुने

रातोपोस्ट संवाददाता
४९४ पटक

झापा, १ असार । भद्रपुरको मेची अस्पताललाई दुई सय शैयामा विस्तार हुने भएको छ । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङबुहाङले आज प्रस्तुत गरेको नयाँ बजेटमा मेची प्रादेशिक अस्पताललाई विस्तार गर्दै २ सय शैया बनाउने घोषणा गरिएको छ ।

यस अघि १ सय बेडको थियो यो अस्पताल । धनकुटा र पाँचथर जिल्ला अस्पतालको ५० शैयालाई समेत विस्तार गरेर १०० शैया पुर्याइने बजेटमा उल्लेख छ । प्रदेशभित्रका सबै जिल्ला अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्न बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले कोरोना महामारी रोकथाम नियन्त्रण र उपचारका लागि ४४ करोड बजेट विनियोजन गरेको छ । पछिल्लो समय प्रदेश सरकारको मातहतमा यो अस्पताल गएपछि शैया र भौतिक पूर्वाधार विकासमा उल्लेखनीय लगानी बढाइएको छ ।

संघीय सरकारले मेची अस्पताललाई रु. ९ करोड दिने घोषणा गरिसकेको छ भने हालै ५० शैयाको छुट्टै कोभिड अस्पताल बनाउने गरी भवन शिलान्यास समेत भइसकेको छ । अब मेची अस्पताललाई सरकारी मेडिकल कलेजको रुपमा विकास गर्न प्रस्ताव तयार भइरहेको समेत स्रोतले जनाएको छ । सरकारले मेची अञ्चलका चार जिल्लामध्ये कुनै एक स्थानमा सरकारी मेडिकल कलेज खोल्ने भएको छ । इलाम र पाँचथरमा यसका लागि प्रस्ताव गरिदै आए तापनि मेची अस्पताल नै सबैभन्दा उपयुक्त हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्