News Portal

पहिरोले चामे बजार जोखिममा, विस्फोट गराएर खुलाउने तयारी

रातोपोस्ट संवाददाता
३३३ पटक

काठमाडौं, ५ असार । तीन दिनदेखि लगातार परेको वर्षापछि आएको पहिरोले मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ । मनाङको चामे गाउँपालिका–४ र ५ जोड्ने स्थानमा पहिरो खस्दा नदीको बहाव पूर्ण रुपमा थुनिएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार नदीको बहाव थुनिएपछि सदरमुकाम चामे आधा जति डुबेको छ । निरन्तर वर्षा भइरहेको र पानीको बहाव अझै बढ्न थाले चामे बजार पूर्ण रुपमा डुब्ने जोखिममा रहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गा माटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिएको हो । माथिबाट झरेको पहिरो, ढुङ्गा माटो र काठ दाउराले मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । अहिलेसम्म केही सरकारी कार्यालय, विद्यालय र केही घरहरु डुबिसेकेको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी सारदा चालिसेले जानकारी दिइन् ।

चामेको पारिपट्टिको भाग डुबानमा परेको छ । सिङ्गो चामे बजार जोखिममा परेको प्रशासनले जनाएको छ । बाढीले चामेबाट माथिल्लो मनाङतर्फ जाने एकमात्र बेलीब्रिज समेत कटान गरेको छ । थुनिएको नदी बम विस्फोट गराएर खुलाउने तयारी भइरहेको छ । नेपाली सेनाको विस्फोटक टोलीले नदी खुलाउने तयारी गरे पनि निरन्तर पानी परेकाले समस्या उत्पन्न भएको प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्