News Portal

मेचीनगरले मेचे जातीलाई प्रथम जाती घाेषणा गरेकाेमा राजवंशी समाजकाे आपत्ति, निर्णय नसच्चाए आन्दाेनल गर्ने चेतावनी

रातोपोस्ट संवाददाता
५५९ पटक

मेचीनगर १५, असार । मेचीनगरपालिकाले एकलाैटी ढंगबाट सम्बन्धि पक्षहरूसंग छलफल र संवाद नगरी मेचे जातीलाई नगरकाे प्रथम जाती घाेषणा गर्न लागेकाे भन्दै राजवंशी समाज विकास समितिले आपत्ति जनाएकाे छ । मेचीनगरपालिकाले आठौं नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ काे बजेट, नीति तथा कार्यक्रम मार्फत मेचे जातिलाई सम्मानसहित प्रथम जाती घाेषणा गर्ने निर्णय गरेकाेमा समाजले आपत्ति जनाएकाे हाे । राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष दिनेश्वर प्रसाद राजवंशी, मेची नगर अध्यक्ष दिनेश राजवंशी , केन्द्रीय सल्लाकार पानीलाल राजवंशी, जिल्ला सचिव मुनिलाल राजवंशीलगायतले निर्णय सच्चाउनु पर्ने भन्दै नगर प्रमुख विमल आचार्यलाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रथम जाति हुने ऐेतिहासिक ठाेस प्रमाणहरू के- के हुन् ? ती प्रमाण जुटाएर कार्यदल बनाई सम्बन्धि पक्षकाे पनि सहभागीतामा प्रथम जाती घाेषणा गर्न समाजले माग गरेकाे छ । मेचीनगरपालिकाकाे साविक गाविसका नामहरू नकलबन्दा,काकरभिट्टा, धुलाबारी, ज्यामिरगढी, दुहागढी त्यसैगरी कायाँटुली, तेलीवारी, हेद्लुवारी, गाेलबारी, गजाबारी, मदनबारी, बमबारी, भाङ्गालाबारी लगायतका धेरै स्थानिय गाउँहरूकाे नामहरू राजवंशी भाषामा रहेकाे पुरानाे प्रमाणहरू भएकाे राजवंशी समाज विकास समितिका जिल्ला सचिव मुनिलाल राजवंशीले बताए ।

ऐतिहासिक जातिय प्रमाणका आधारमा मेचीनगरपालिकामा राजवंशी जातिकाे बलियाे उपस्थिति रहेकाे हुदाँ नगरपालिकाले राजवंशी जातिलाई नगरकाे प्रथम जातिकाे रूपमा घाेषणा गर्नु पर्ने सचिव मुनिलालले बताए । झापा, माेरङ्ग र सुनसरीमा आदिमकालदेखि बसाेबास गर्दै आएकाे भुमीपुत्रकाे रूपमा रहेकाे राजवंशी जातीहरूकाे आफ्नै माैलिक भाषा, संस्कृति, रहनसहन र भेषभुषा रहेकाे भन्दै समाजले नगरप्रमुख आचार्यलाई बुझाएकाे ध्यानाकर्षण पत्रमा उल्लेख गरेकाे छ । नगरले प्रथम जाति घाेषणा गर्दा ऐेतिहासिक प्रमाणका आधारमा प्रथम जाति घाेषणा गर्न समाजले नगरपालिकासंग माग गरेकाे हाे । ‘यस नगरकाे आदीवासीमध्ये मेचे जातिकाे भाषा र संस्कृतिलाई पनि उतिकै सम्मान गर्दछाै’ समाजले ध्यानाकर्षण पत्रमा भनेकाे छ । समाजले राजवंशी जातीलाई प्रथम जाती घाेषणा नगरे वा वेवास्ता गरे चरणबद्व आन्दाेलन गर्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरेकाे छ ।

प्रतिकृया दिनुहोस्