News Portal

किसानलाई भुक्तानी गर्न डीडीसीलाई २० करोड ऋण

रातोपोस्ट संवाददाता
३५१ पटक

काठमाडाैं, २० असार । किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई २० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराएको छ । कोभिड–१९ को असहज परिस्थितिमा संस्थाको भुक्तानीका लागि सहजता प्रदान गर्न सरकारले ५ प्रतिशत ब्याजमा १० वर्षका लागि २० करोड रुपैयाँ ऋण उपलब्ध गराएको हो ।

संस्थाले वार्षिक दुई/ दुई करोडका दरले सरकारलाई सो रकम फिर्ता गर्नुपर्ने सर्त रहको छ । कोरोनाका कारण दुग्ध पदार्थ बिक्री नभएर लामो समयदेखि किसानलाई भुक्तानी दिन नपाएको संस्था आर्थिक रूपमा कमजोर बन्दै गएको गएको थियो । सोही आर्थिक समस्याबाट माथि उठ्न डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सरकारसँग सहुलियत ऋण मागेको थियो ।

सरकारबाट प्राप्त रकम वितरण गरे पनि किसानलाई दिनुपर्ने ४५ करोड रुपियाँ अझै बाँकी रहेको छ र सरकारबाट प्राप्त रकमले चैत १५ सम्मको बक्यौता रकम किसानलाई वितरण गर्ने डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलका जानकारी दिए । पछिल्लो समय निषेधाज्ञा क्रमशः खुकुलो हुँदै जाँदा दूध तथा दुग्धजन्य पदार्थको बिक्री वितरण पनि बिस्तारै बढ्दै गएकाले अब भने किसानको भुक्तानीका लागि गाह्रो नपर्ने पौडेलले बताए ।

प्रतिकृया दिनुहोस्