News Portal

आज नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हुँदै

रातोपोस्ट संवाददाता
६५३ पटक

काठमाण्डाै, १७ भदाै । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ। बलियो टिम भारतविरुद्ध मैदान उत्रँदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जित्नकै लागि खेल्ने बताएका छन् ।

कप्तान किरण चेम्जोङले भारतसँग खेल्न कठिन हुने बताउँदै भारतको कमिकमजोरी पत्ता लगाएर आउँदा दिनको लागि पाठ सिक्ने बताए । उनले नेपालले घरेलु मैदानको फाइदा लिन सक्नुपर्ने पनि बताए । माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र भारतबीचको दोस्रो खेल आइतवार हुनेछ । साफ च्याम्पियनसिप आउँदाे असोज १५ देखि ३० गतेसम्म हुँदैछ ।

नेपालले पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो । अनिल गुरुङ र जुमानु राईले गोल गरेपछि दशरथ रङ्गशालामा नेपालले भारतलाई २–१ ले हराएको थियो। यसैबीच नेपाल र भारतबीचको खेलका क्रममा दर्शकलाई रङ्गशाला प्रवेश दिइने भएको छ । कोरोनाविरुद्धको खोप लगाएका वा ७२ घण्टा अघिको पीसीआर नेगेटिभ रिपोर्ट भएका पाँच हजार एक सय दर्शकलाई प्रवेश दिइने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । टिकटका लागि एन्फाले भीआईपीतर्फ २ हजार र साधारण प्यारापिटतर्फ १ हजार रुपैयाँ तोकेको छ ।

प्रतिकृया दिनुहोस्