News Portal

सुकुम्बासी आयोगको अध्यक्षमा निरौला नियुक्त

रातोपोस्ट संवाददाता
२५५ पटक

काठमाडौं, ३० भदाै । सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय भूमि आयोग, २०७८’ गठन गर्दै आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो। निरौला र खड्काले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ लिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त अध्यक्ष निरौलालाई शपथ गराएका हुन्। शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताए। उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताए।

‘भूमि आयोग गठन भएको छ, दलित भूमिहीन, भूमिहीन र अव्यवस्थित बसोवासीहरुका लागि गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ, सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलताहरु थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिवद्ध हुनेछौँ’, उनले भने। शपथग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाण, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्