News Portal

बर्षाले डुबायो घर

नवराज सुवेदी
३२४ पटक

झापा, ४ कात्तिक । झापाको भद्रपुर नगरपालिका वडा-९ का भिमसेन राईको घर हडिया खोलाको किनारैमा छ । किनारमा घर भएपनि खोलामा आएको सानो बाढीले उनको घरलाई छुदैँन थियो । तर यसपटक आएको बाढीले भने उनको घर नै डुबानमा पारेको छ ।

“घर अग्लो बनाइएछ र मात्रै, नत्र त घरै सबै डुबाउने रहेछ, तर पनि हेर्नुन भान्साघर सबै डुबानमा परेको छ ।” आँगनमा जमेको पानी देखाउँदै उनले भने “कात्तिकमा यत्रो बाढी त थाहा छैन मलाई त, तर पनि बाढी आइहाल्यो, घर डुबानमा परेको छ, अब हामीलाई कसैले राहत देला त ?” उनको यस प्रश्नमा गुनासो र अपेक्षाले भरिएको आँशु पनि मिसिएको थियो । उनको मात्रै होइन यस क्षेत्रमा रहेको सुकुम्बासी बस्तीका सबैको गुनासो यस्तै थियो । हडिया खोलाको बाढी बस्तीमै पसेको रहेछ । सबैजना आँगनमा जमेको पानी कटाउन व्यस्त थिए ।

“अघि विहान आउनुभएको भए यो गाउँ नै डुबानमा परेको थियो, अहिले त खोला घट्दै गएको हो” अलि परबाट एकजना युवाले भने “राति भएपछि खोला बढेर आउँछ, गाउँ नै डुबानमा पर्छ, पानी परेपछि रातभरी निद्रा लाग्दैन ।” ति युवाको आवाजमा साँच्चैको वास्तविकता झल्कन्थ्यो ।

उता झापाको भद्रपुर ४ मा पनि मेची नदीको बाढीले सिंगो गाउँ नै डुबानमा पारेको रहेछ । भद्रपुर ४ को डाँगीबारी क्षेत्रमा मेचीको बाढी पसेको रहेछ । “मेचीको बाढीले यो गाउँ नै डुबाएको थियो ।” ६० बर्षिय दिपेन्द्र पास्वानले भरखरै खोलाको पानीबाट ओभाउँदै गरेको गाउँ देखाउँदै भने “अहिले पनि धानबालीमा खोला कुदिरहेको छ, पाक्न लागेको धान सोत्तर भएको छ ।” पास्वान त्यस डाँगीबारी क्षेत्रमा बसाई सरेर गएको ६ बर्ष भएछ, त्यसअघि उनी झापा चोक बस्दा रहेछन । बाढीले क्षती पु¥याएको धानबाली देखाउँदै उनले फेरी भने “बर्षभरी जिवन गुजारा गर्ने अन्न यसरी क्षति भएको छ, अब कसरी परिवार चलाउने ?”

यता निरन्तरको अविरल बर्षाले समग्र झापामा नै ठुलो क्षति गरेको छ । लगातारको बर्षाका कारण जिल्लाका ३ सय ६१ परिवार विस्थापित भएका छन् भने ५० प्रतिशत धानबालीमा क्षति भएको छ । विशेष गरि जिल्लाको दक्षिणी पालिकाहरु अत्यन्तै प्रभावित बनेका छन् । अविरल बर्षाका कारण नदीहरुमा पानीको बहाब बढ्दा कतै डुबान भएको छ भने कतै बाढीले कटान गरेको छ । जिल्लाको भद्रपुर, गौरीगञ्ज, शिवसताक्षी, झापा गाउँपालिका लगायतका स्थानीय तहमा ठुलो क्षति भएको छ ।

प्रतिकृया दिनुहोस्