News Portal

उपत्यकाको फोहर रोकियो : डम्पिङ साइट सधैँका लागि बन्द गर्ने चेतावनी

रातोपोस्ट संवाददाता
४०४ पटक

काठमाडौं, १३ श्रावण । काठमाडौं उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेका हुन् ।

यसअघि सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहर बिहीबार त्यहाँ पुर्‍याइएको । आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहरको व्यवस्थापन हुन सकेन ।बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो । हरेक दिन उपत्यकाबाट एक हजार २ सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । यसमध्ये सबैभन्दा बढी कामपामा ५ सय मेट्रिक टन फोहर निस्कने गर्दछ ।

यता बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेदेखि डम्पिङ साइट अनिश्चित कालका लागि बन्द गर्ने चेतावनी दिएको छ । फोहोर मैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरू अलग गर्ने लगायतका आवश्यक कार्य साउन ३१ गतेसम्म सुरु नगरे डम्पिङ साइट सधैँका लागि बन्द गर्ने चेतावनी दिएको हो ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले नेपाल सरकार, राजनीतिक दलहरू, प्रशासनिक तथा न्यायिक निकाय, काठमाडौं महानगरपालिकालार्ई अन्तिम पटक अनुरोध गरेको जनाएको छ ।

सरकारले समितिसँग गरेको सहमति विभिन्न बहाना बनाएर षड्यन्त्र गरी कार्यान्वयन नगर्ने नियत बुझिएको भन्दै उपत्यकाको फोहोर मैला सिसडोल बञ्चरेडाँडा लैजान सधैँको लागि बन्द गर्ने बाध्यकारी आन्दोलन गर्नुको विकल्प नरहेको संयोजक श्रीराम ढुङ्गानाले बताए । उनले भने,’ उपत्यका भित्रको फोहोर मैला अब बन्चरेडाँडा ल्यानफिल्ड साइट अथवा सिसडोल ल्यानफिल्ड साइट भन्ने इतिहासको लागि अन्तको दिनको रुपमा भदौ १ गतेलाई हामीले घोषणा गरेर बन्द गर्ने छौ ।”

महानगरपालिकाले ल्याण्डफिलसाईट प्रभावित क्षेत्रका नागरिकको आमनरसंहार, वातावरण विनास हुनेगरी प्राणघातक फोहोर मैला डम्पिङ गर्दा स्थानीय नागरिकहरूले मरे तुल्य अवस्थामा टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै बन्चरेडाँडा सङ्घर्ष समितिका संयोजक ढुङ्गानाले आफूहरूको माग पूरा गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए ।

प्रतिकृया दिनुहोस्