News Portal

प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
३३२ पटक

झापा, ३० साउन । प्रेस क्लब मेचीनगरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार क्लबको कार्यालय काँकरभिट्टामा निर्वाचन समितिले एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित समितिलाई पदहस्तान्तरण गराएको हो ।

गत साउन २१ गते शनिबार सम्पन्न क्लबको आठौं अधिवेशनमार्फत आगामी दुई बर्षे कार्यकालका लागि डम्बर बरालको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन भएको थियो । क्लबका संस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक सन्तोष आचार्यको सभापतित्वमा भएको कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी उप्रेतीले नवनिर्वाचित अध्यक्ष बराललाई पदहस्तान्तरण गरेका थिए ।

सो अवसरमा प्रतिवद्धता मन्तब्य राख्दै नवनिर्वाचित अध्यक्ष बरालले क्लबले आगामी दिनमा मेचीनगरका सबै सञ्चारकर्मीहरुको अपनत्व हुने गरी कार्यक्रमहरु अघि बढाउँदै लैजाने बताए ।

उनले पाँचौं कार्यकालका लागि कार्यसमितिमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्वद्ध सबैमा आभार प्रकट गर्दै सबैको भावनालाई प्रतिनिधित्व गर्दै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा निर्वाचन समिति संयोजक तथा संस्थापक अध्यक्ष आचार्य, पूर्व अध्यक्ष तथा निर्वाचन समितिका सदस्य ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, निवर्तमान अध्यक्ष उप्रेतीलगायतले शुभकामना मन्तब्य राख्दै समग्र सञ्चारकर्मीहरुकोे हितमा काम गर्न नवनिर्वाचित समितिलाई सुझाव दिए ।

निर्वाचन समितिका सदस्य पौडेलले स्वागत तथा अर्का सदस्य निरौलाले सञ्चालन गरेको पदहस्तान्तरण कार्यक्रममा क्लबका निवर्तमान कार्यसमितिका पदाधिकारी, वर्तमान कार्यसमिति तथा मेचीनगरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्