मेचीनगर, ११ मंसिर । नेपालको पूर्वी सीमावर्ती शहर काँकरभिट्टाबाट ‘लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान’ सुरुवात भएको छ । मेचीनगर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा सोमबार पूर्वी नाकास्थित काँकरभिट्टाबाट लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात गरिएको हो । प्रत्येक बर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बर २०२४ सम्म विश्वमा नै लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान मनाइँदै आइएको छ । यही क्रममा नेपालमा पनि यसबर्ष २०८१ साल मंसिर १० गतेदेखि २५ गतेसम्म विविध कार्यक्रम गरी भव्यरुपमा यस अभियान मनाइँदैछ । यसैक्रममा पूर्वी सीमावर्ती सहर काँकरभिट्टाबाट मेचीनगरले उक्त अभियानको सुरुवात गरेको हो ।
‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरबाट घरैबाट सुरू गरौं, महिला हिंसा अन्त्य गरौँ, बाल बिवाह रोकौं सभ्य समाजको निर्माण गरौं, लंैगिक हिंसा बिरूद्ध ऐक्यबद्धता सम्मान समानता र न्यायको यात्रा, बालबालिकालाई शिक्षामा जोड दिऊँ, घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज, हिंसामुक्त समाज हाम्रो प्रतिबद्धता, हाम्रो समाज लगायतका नारा लेखिएका प्लेकार्ड र व्यानरसहित विहान शुरू भएको र्यालीले बाहुनडाँगी रोड, पुरानो सुपारी लाइन, गुराँस पथ, वडा कार्यालय रोड, बसपार्क, मुख्य राजमार्ग लगायत काँकरभिट्टा बजारको मुख्यः मुख्यः स्थानको परिक्रमा गरी कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी राधा प्रधानले जबसम्म महिला र पुरुषमा कामको समान बाँडफाँट गरिँदैन तबसम्म समाजमा महिला हिंसा अन्त्य नहुने बताइन् । महिला हिंसा विश्वमा नै डरलाग्दो रहेको बताउँदै उनले समाजमा जरैबाट लैंगिक हिंसा उल्मूलन गर्न सर्वप्रथम महिला र पुरुषलाई समान दृष्टिकोणले हेर्नुपर्ने बताइन् ।
त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक मिमबहादुर लामाले समाजमा घट्ने जुनसुकै हिंसा भएपनि त्यसलाई कानुनले नछाड्ने बताए । उनले कानुनभन्दा माथि कोही पनि नरहेको भन्दै समृद्ध र शान्त समाज निर्माण गर्न सबै मिलेर अगि बढ्नुपर्ने उनको भनाइ छ । सन् १९९९ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरूद्धको दिवसका रूपमा मनाउन राखेको प्रस्तावलाई राष्ट्र संघले स्वीकार गर्दै डिसेम्बर १७ मा पारित भएकोे थियो । नेपालमा २०५४ सालदेखि लैंगिक हिंसाविरूद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन शुरू गरिएको छ । नेपालसहित भारत, श्रीलंका जापानलगायत विश्वका ८० वटा भन्दा बढी मुलुकमा घरेलु हिंसा विरूद्धको छुट्टै विशेष कानून बनेको छ । तर, नेपालमा कानून बने पनि मजवुतरूपमा कार्यान्वयन नहुँदा यस्ता घटनामा रोकिन नसकिरहेको अवस्था छ ।
यद्यपि स्थानीय सरकारको हैसियतले आफुहरुले लैंगिक हिंसा बिरुद्ध बर्षैभरि थुप्रै कार्यक्रमहरु अगाडि बढाइरहेको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् । महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले सहजीकरण गरेको कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, विभिन्न वडाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, महिला अधिकारका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, नेपाल स्काउट, एनसीसी दल, सञ्चारकर्मी, रेडक्रस, राजनीतिक दलका प्रमुख प्रतिनिधिलगायत ठुलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो । कार्यक्रममा महिलामाथि हुने सबै खाले हिंसा रोक्न प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत भएको छ ।