News Portal

फोटो पत्रकारको प्रदेश अध्यक्षमा देवराज पौडेल चयन

रातोपोस्ट संवाददाता
३०५ पटक

विराटनगर, २१ असार । फोटो पत्रकार महासंघ प्रदेश १ को अध्यक्षमा मोरङका देवराज पौडेल निर्वाचित भएका छन् ।

कोशीटप्पुमा ३ दिने तालिमसहित सम्पन्न प्रदेश अधिबेशनबाट पौडेलसहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । प्रदेश समिति उपाध्यक्षमा झापाका विनोद पाण्डे, मोरङकी अप्सरा समाल र महासचिवमा मोरङकै कमल रिमाल निर्वाचित भएका छन् ।

धनकुटाका रमेशचन्द्र अधिकारी सचिवमा र कोषाध्यक्षमा मोरङकी सुशीला पाठक निर्वाचित भएका छन् । अधिबेशनको आइतबार प्रदेश १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद अधिकारीले फोटोपत्रकारको फोटो खिचेर उद्घाटन गरेका थिए ।

मन्त्री घिमिरेले फोटोपत्रकारले सम्पदा, जैविक विविधता र समाजको फोटो खिचेर यथार्थ प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले आम सञ्चारकर्मी र सञ्चारमाध्यमको हकहितका लागि मन्त्रालय सँधै तत्पर रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरेले पत्रकारहरु व्यवसायिक र प्राविधिक रुपमा सबल बन्न आवश्यक रहेको बताएका थिए । प्रविधिमा आएको परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्न सके समाचारमा समेत गुणस्तरीयता आउने उनको भनाइ थियो ।

अधिवेशन लगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले सल्लाहकारमा मोरङका पत्रकार मोहन ढकाल, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे र पत्रकार महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाललाई चयन गरेको छ ।

दोश्रोपटक निर्वाचित प्रदेश अध्यक्ष देवराज पौडेलले फोटोपत्रकारको स्तरोन्नतिका लागि सहुलियत ऋण र बिमाका कार्यक्रमलाई आफूले प्राथमिकतामा राखेको बताए । अधिवेशन पूर्व सञ्चालित प्रशिक्षणमा बिसप ताम्राकार र केन्द्रीय अध्यक्ष ध्रुव आलेले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रदेश १का १३ जिल्लाका ६५ जना फोटो पत्रकारको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्