News Portal

आजदेखि नेपाल- भारत बस सेवा सञ्चालनमा

रातोपोस्ट संवाददाता
३१८ पटक

झापा, २२ असार । भारतको पश्चिम बङ्गालस्थित सिलिगुडी-काठमाडौँ बस सेवा आजदेखि सञ्चालनमा आएको छ  । पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पाेरेशनको मातहतमा रहने गरी उर्वन परीवहन सर्भिस प्रा.लि.ले भारतीय नम्बर प्लेटको सवारी साधनबाट सेवा सुरु गरेको हो ।

ग्रीनलाइन कम्पनीको एसी जडित सुविधा सम्पन्न डब्लु बी २५ के २९४९ नम्बरको बसले सेवा सञ्चालन गरेको हो । भारतीय नम्बर प्लेटको सवारी साधनले बुधबारबाट सुरु गरेको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठले बताए ।

सिलिगुडीबाट काँकरभिट्टा आइपुगेको बसका चालक, सहचालक, परिचालकसहित यात्रुहरुलाई पूर्वीनाकामा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तो, सशस्त्र प्रहरी बल नेपाल विओपी काँकरभिट्टाका सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, मेचीनगर वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ, ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, झापा जिल्ला ट्राभल्स संघका अध्यक्ष निरबहादुर कार्कीलगायत अन्य व्यवसायीहरुले नेपाली ढाकाको टोपी र खादासहित फूलमाला पहिर्याएर यात्रा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा मेचीनगर वडानम्बर—६ का वडाध्यक्ष ललितकुमार तामाङ, दुई देशबीच मैत्रीपूर्ण बस सेवा सञ्चालन एक कोसेढुंगा सावित हुने भन्दै आफ्नो तर्फबाट आवश्यक सबै सहयोग गर्न तत्पर रहेको बताए । भारतका पर्यटक नेपाल आउन र नेपालका पर्यटक भारतसम्म जान अब निकै सहज हुनेछ । सीमामा आउजाउ गर्ने मानिसले भोग्दै आएका समस्या पनि बस सेवाले केही कम हुने नाटाका अध्यक्ष श्रेष्ठले बताए । आसाम मेघालयदेखिका यात्रुहरुले समेत यो सवारी साधन प्रयोग गर्न सक्ने र सहजरुपमा यात्रा गर्न सक्ने उनको भनाई छ । मैत्री बस सेवा सुरु भएपछि दुबै देशका यात्रुहरूलाई लाभ मिल्नेछ । यसका साथै सीमा क्षेत्रमा लुटिने समस्याको समेत अन्त्य हुनेछ ।

तेन्जिङ्ग नोर्गे सिलिगुडी बस टर्मिनलबाट साढे २ बजे बस काठमाडौंका लागि छुटेको हो । सातैदिन बसले सेवा दिने छ । सिलिगुडीदेखि काठमाडौंको ६ सय ४५ किलोमिटर यात्रा गर्न बसमा करिब १७ घण्टा लाग्छ । त्यसका लागि यात्रुले १ हजार ५ सय भारु वा २ हजार ४ सय नेपाली रुपैयाँ भाडा तिर्नुपर्छ । यसअघि दिल्ली–काठमाडौं मैत्री बस सेवा सन् २०१४ को नोभेम्बर २५ बाट सुरु भएको थियो । नेपाल र भारत दुबै सरकारको पहलमा संयुक्त रूपमा दिल्ली–काठमाडौं–दिल्ली बस सेवा सञ्चालन गरिएको थियो । नेपालका तर्फबाट मञ्जुश्री यातायातले तीन दिन तथा भारतका तर्फबाट दिल्ली सरकारको डीटीसीले तीन दिन बस चलाउने गरेको छ ।

प्रतिकृया दिनुहोस्