काठमाडौं, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले देश बेच्न पाइँदैन भनेर एमसीसीजस्तो राष्ट्रघाती सम्झौताविरुद्ध लडाई लडेर जेल परेका आफ्ना पार्टीका कार्यकर्तालाई १० लाखसम्म धरौटी माग्ने न्यायाधीशलाई घरबाटै थुतेर कुट्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देश बचाउन लडाई लडेका आफ्ना कार्यकर्तालाई रिहाइ गर्न यति धेरै धरौटी माग गर्ने न्यायाधीश को हुन् ? भनेर पटकपटक प्रश्न समेत गरे ।
महासचिव विप्लवले सो आन्दोलनको क्रममा गिरफ्तार भएका आफ्ना पार्टीमा आबद्ध विद्यार्थीहरूलाई अदालतले धेरै धरौटी मागेको उल्लेख गर्दै कहाँबाट ल्याएर तिर्ने भन्दै आक्रोश समेत व्यक्त गरे । उनले भने, ‘एमसीसीविरुद्ध हामी टाउको फुटुञ्जेल लड्यौँ । हामीले त हात भाँचिउञ्जेल लड्यौँ । खुट्टा भाँचिउञ्जेल लड्यौँ । हाम्रा साथीहरू जेल जानुभयो । धरौटी पनि कति माग्ने ? १० लाख माग्ने क्या । एउटा विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी तोक्ने न्यायाधीश को हो ? एउटा पढिरहेको विद्यार्थीलाई १० लाख, ५ लाख धरौटी माग्ने, यो न्यायाधीश को हो ? यिनको त घरघर गएर थुतेर कुट्नुपर्छ क्या यिनलाई ।
एउटा साँचो कुरा के हो भने एउटा विद्यार्थीलाई, एउटा पढिराखेको विद्यार्थीहरूलाई १० लाख, ५ लाख धरौटी माग्ने हो ? कहाँबाट ल्याएर तिर्ने १० लाख भन्नु होस् त ? एउटा युवा देश बेच्न पाइँदैन भनेर जुलुस गर्दा खेरी गिरफ्तार हुने मान्छेलाई ३ लाख धरौटी माग्ने हो ? नभएको कुकर बम बनाएर भिडाइ दिने हो ? यसले के देखाउन भने नेपालमा दलालहरू चारैतिर छरिएर बसेका छन् । दलालहरूको सल्लाह छ । हाम्रो विरुद्ध षडयन्त्र गर्न एक भएर लागिरहेका छन् ।’ महासचिव विप्लवले एमसीसी संसदबाट पारित भएपनि त्यसलाई कार्यान्वयन हुन नदिने अडान समेत दोहोर्याए । उनले क्रान्ति गर्न डराएकाहरूले मात्रै आफ्नो पार्टी छाडेको दाबी गरे ।