झापा, ३२ असार । झापाको बिर्तामोड नगरपालिकाका कृषकलाई सिँचाइका लागि आज रकम प्रदान गरिएको छ । साना सिँचाइ कार्यक्रमअन्तर्गत नगर क्षेत्रका ५० कृषकलाई स्यालो ट्युबेल जडान गर्न रु ४० हजारका दरले रू २० लाख प्रदान गरिएको हो ।
साना सिँचाइ कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकलाई रकम हस्तान्तरण गरिएको बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले बताए । सहारा नेपाल साकोससँगको सहकार्यमा तीन वर्षयता १५० वटा स्यालो ट्युबेल वितरण गरिएको उनले बताए। नगरपालिकाले पाँच वर्षको अवधिका ६३७ वटा स्यालो ट्युबेल वितरण गरेको छ । चालु आर्थिक वर्षमा मात्रै नगरबाट ६७ र सहारा नेपालसँगको साझेदारीमा ५० वटा स्यालो ट्युबेल वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिए । वितरित स्यालो ट्युबेलबाट करिब दुई हजार बिघा भन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ ।
स्यालो ट्युबेलको रकम पाउनेमा बिर्तामोड नगरपालिका-२ का छ, ४ का एक, ६ का दुई, ७ का नौ, ८ का छ, ९ का १५ र वडा नं १० का ११ जना कृषक रहेका छन् । सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसँग विपन्न आवास, कृषि, पशुपछी र शिक्षाको क्षेत्रमा नगरपालिकासँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताए । ‘यस्ता कामले कृृषकको जीवनस्तर उकास्न मद्दत पुग्छ,’ उनले भने, ‘गरिबी न्यूनीकरण, उद्यमशीलता विकासका लागि हामी सदैव सहकार्य गर्न तयार छौँ ।’