झापा, १ भदौ । डी कौडिन्य स्मृति पत्रकारिता पुरस्कार बाट आज झापाका तीन पत्रकार सम्मानित भएका छन । कोरोना संक्रमणका कारण दुई वर्षदेखि स्थगन भएको सो पुरस्कार जीएन शर्मा, राजु पाठक र लीलाराज खड्का झापालीलाई गौरी शंकर स्मृति सभाहल विर्तामोडमा एक समारोहका विच माओवादी नेता राम कार्कीले सम्मान पत्र सहित तिन जना पत्रकारलाई नगद २१ हजारले सम्मान गरेका छन ।
प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेको संयोजकत्वमा सेन्टरका जिल्ला अध्यक्ष झुलन रेग्मी र पत्रकार महासंघ झापाका सचिव तथा प्रेस सेन्टर प्रदेश कमिटी सदस्य डिकेश लामाले प्रतिभा छनौट गरेका थिए ।
गठित समितिले २०७७ सालको पुरस्कार चौतारी पोष्ट अनलाईनका सम्पादक शर्मा, २०७८ सालको पुरस्कार मेची खवर साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ झापाका सहसचिव पाठक र २०७९ सालको पुरस्कार गोरखापत्र दैनिक झापाका समाचारदाता तथा नेपाल पत्रकार महासंघ प्रदेश १ का सदस्य झापालीलाई प्रदान गर्ने निर्णय गरेको हो । झापाली कनकाई साप्ताहिकका सम्पादक समेत रहेका छन् ।
तत्कालीन साही सेनाले २०५९ साल साउन ७ गते पक्राउ गरी चारआलीस्थित व्यारेकमा पु¥याएर डि कौडिन्य (देव कुमार आचार्य ) लाई हत्या गरेको थियो । जनपक्षीय पत्रकार देव कुमार आचार्यको स्मृतिमा प्रेस सेन्टर झापाद्वारा स्थापित यो पुरस्कारबाट यस अघि चन्द्र भण्डारी, लीला बराल, दीपिन राई, बिमल लामिछाने, केशव भट्टराई पुरस्कृत भईसकेका छन् ।