झापा, भदौ १२ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाको अध्यक्षमा पाण्डवलाल चौधरी निर्वाचित भएका छन् । महासंघको सातौ अधिवेशनको बन्दसत्रबाट थारु कल्याणकारिणी सभाका प्रतिनिधि चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा केवलराम राई , रोहित खवास , लीला मगर , सचिवमा लक्ष्मण श्रेष्ठ ,सहसचिवमा अनिता राजवंशी , कृष्ण माझी र दिलिप उराव चयन भएका छन् । उपाध्यक्षका तीनैजना र सहसचिवमा अनिता राजवंशी सर्वसम्मत भएका थिए भने सचिव र बाँकी दुई सहसचिव पदका लागि मतदान भएको थियो । सचिव पदमा लक्ष्मण श्रेष्ठले १३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी ओमप्रकाश खापुङले मात्र ८ मत पाएका थिए ।
त्यस्तै सहसचिवको प्रतिष्पर्धामा दिलिप उराव र कृष्ण माझी विजयी हुँदा बुद्धिराम सुनुवार पराजित भएका छन् । कोषाध्यक्ष पदमा मनोनयन गर्न बाँकी रहेको छ । त्यस्तै अन्य जातीय संस्थाका प्रतिनिधिहरु समितिको सदस्य रहनेछन् । समितिको कार्यकाल तीन वर्षको हुने जनाइएको छ ।झापाका २१ वटा जातीय संस्था महासंघमा आवद्ध रहेका छन् । हिजो एक समारोहका बीच प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले बिर्तामोडमा अधिवेशनको उद्घाटन गरेका थिए ।