News Portal

पत्रकारद्धय पौडेल र घिमिरेलाई दिएको धम्कीप्रति प्रेस क्लब मेचीनगरको गम्भीर ध्यानाकर्षण

रातोपोस्ट संवाददाता
२०४ पटक

झापा, ७ माघ । सञ्चारकर्मी खगेन्द्र घिमिरेलाई झापाको बाहुनडागीका केही युवाले ज्यान मार्ने धम्की दिएका छन् । पत्रकार घिमिरेलाई समाचार प्रसारण गरेको विषयमा ९८१४९१४८३३ नम्बरबाट ज्यान मार्ने धम्की आएको हो । केही दिन अघि बाहुनडागीमा डियुटीको समय चुरोट खादै गरेर, व्यापारीसँग मिलेमतो गरेको भिडियो घिमिरेले सार्वजनिक गरेका थिए । यस विषयमा घिमिरेलाई बाहुनडागी आइस भने तीन फुट चार इन्च तल गाड्ने भन्दै धम्की दिएका थिए ।

मेचीनगर–४, बाहुण्डाँगी स्थित नेपाल भारत बोर्डर छेउमा डियुटी कै समयमा सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीले अमर्यादित कार्य गरेको भिडियो प्रसारण तथा प्रकाशन गरेको विषयमा प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल र सदस्य खगेन्द्र घिमिरेलाई दिएको धम्कीप्रति प्रेस क्लब मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारले सञ्चार माध्यममा प्रकाशित÷प्रसारित गरेको भिडियो फुटेज कै आधारमा सम्बन्धित प्रहरी माथि विभागीय कारबाही हुनुले समेत उक्त समाचार सान्दर्भिक र तथ्यगत रहेको पुष्टि गरिसकेको छ ।

सोही सन्दर्भलाई लिएर सञ्चारकर्मी घिमिरेलाई प्रत्यक्ष टेलिफोनमार्फत गाली गलौच गर्ने, सञ्चार कर्ममा खटिएकै बखत ज्यान मार्ने सम्मको धम्की दिनुले संविधानले नै सुनिश्चित गरेको प्रेस स्वतन्त्रता माथि नै ठाडो हस्तक्षेप भएको क्लबका अध्यक्ष डम्बर बरालले बताए । पत्रकारबाट समाचार सङ्कलनको क्रममा चित्त नबुझे उजुरी गर्ने निकाय हुँदाहुँदै फेसबुकमा मानहानि हुने गरी पत्रकारको विरुद्धमा धम्की दिने एवम् बाहुण्डाँगी युवाको नाममा गलत कार्यको पक्षधर बन्दै युवाकै बदनाम हुने गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको निवेदनले सम्बन्धित युवा माथि नै आशङ्का र प्रश्न खडा गरेको छ ।

प्रेस क्लब मेचीनगर, पत्रकार घिमिरेलाई ज्यान मार्ने सम्मको धम्की दिने सम्बन्धित व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ । साथै क्लबका पूर्व अध्यक्ष पौडेललाई समेत मानहानि हुने गरी गरेको वक्तव्य बाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । क्लब, प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनको लागि सञ्चार माध्यम र सञ्चारकर्मीलाई भयरहित वातावरणमा समाचार सङ्कलन र सम्प्रेषणको व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गर्दै पत्रकारको सुरक्षामा गम्भीर बन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया दिनुहोस्