झापा, २६ माघ । कुनै बेलाका नामुद लागूऔषध प्रयोगकर्ता हुन्, सन्दिप थापा । मेचीनगर–६ स्थित काँकरभिट्टाका थापाले लागूऔषध प्रयोग गरेकै कारण जीवनमा खुब सास्ती पाए । तीन दशक अघिसम्म दुव्र्यसनीका कारण ‘नर्कझैँ’ जीवन भोगेका थापाको दैनिकी फेरिएको छ । उनी अहिले लागूऔषध दुव्यर्सनीमा फसेकाको उद्धारमा सक्रिय छन् । विगतमा भोगेको पीडाबाट पाठ सिक्दै थापाले काँकरभिट्टामै ‘फ्रीडम फाउन्डेसन नेपाल’ संस्था स्थापना गरेका छन् । जहाँ लागूऔषधमा फसेका १० युवा नयाँ जीवनका लागि प्रयास गरिरहेका छन् । थापा दुव्र्यसनीमा फसेकालाई पाठ सिकाउँछन् ।
पहिला दुव्र्यसनीमा चुर्लम्म डुबेका थापा सहजै अहिलेको स्थितिमा आइपुगेका होइनन् । उनको जीवन कथा कहालीलाग्दो छ । सानै उमेरमा बुवाको निधन भएर अभिभावकविहीन भए थापा । साथीभाइको संगतले उनलाई पहिला सुरुमा चुरोट पिउन उक्साउँथे ।
कहिले रक्सी खान सिकाउँथे । चाख्दा चाख्दै उनी मज्जाले पिउने भइसके । रक्सीसँगै चुरोट पिउने बानी पर्यो । केही समयमै उनलाई रक्सी र चुरोट नभए निद्रै नलाग्ने भयो । ‘रक्सी र चुरोट पिउँदा मात्रै मज्जा आउने भइसकेछ,’ उनी विगत सम्झन्छन्, ‘त्यसपछि घरबाट लुकीलुकी साथीसँग पिउन थालियो ।’ थापाले साथीभाइको लहैलहैमा रक्सी र चुरोटसँगै अन्य लागूपदार्थ सेवन गर्न थाले । त्यसपछि राति अबेरसम्म घर बाहिरै बस्ने र आपसमा झगडा गर्ने बानी पर्यो ।
पैसाको अभाव भएन
पूर्वी नाका जहाँ सानो काम गरेपछि पैसा हुने पैसा भएपछि नजिकै सीमा नाका जतिखेर पनि लागुऔषध पाइने भएपछि थापा लागूऔषध सेवनमा मस्त हुँदै गए । ९ कक्षा पढ्दा नै उनी लागुऔषधमा मस्त थिए, एसएलसी पास गरेपछि सबै कुरा छोडेर । २०४९ सालमा काँकरभिट्टा माविमा एसएलसी उत्तीर्ण गरेपछि उनीले आफ्नो सबै पढाइ छोडेर यही हो मेरो जिन्दगी भनेर नराम्ररी लागूऔषधमा फसिसकेका थिए । ‘त्यतिबेला आफूभन्दा हिरो कोही छैन जस्तो लाग्थ्यो,’ थापाले सुनाए, ‘पुलिस पनि केही होइन जस्तो लाग्थ्यो ।’ विस्तारै आमाले पनि छोराको व्यवहार बिग्रिएको बुझे । थापाकै कारण घरझगडा हुन थाल्यो । त्यसपछि परिवारले थापालाई सम्झाउन थाले ।
उनी विस्तारै विस्तारै चुरोट, रक्सी हुँदै हिरोइन र कोकिन सेवन गर्न थाले । ‘खाएपछि आनन्द आउने । ‘अर्कै संसारमा पुगे जस्तो,’ थापा भन्छन्, ‘नशाको मजा नै बेग्लै ।’ समय बित्दै गयो । उनी झन् नशाको दलदलमा फँसे । पढाइ अलपत्र भयो । पैसा कमाउने त कुरै भएन । ‘भारतबाट आएको खतरनाक लागूऔषध हिरोइन खान्थे उनी । ‘ओभरडोज हुँदा मुटु फुटेर मर्ने सम्भावना हुन्थ्यो,’ गम्भीर हुँदै उनले भने, ‘धन्न भगवानको कृपाले बाँचेँ ।’
अति भएपछि थापाको शरीरले राम्रोसँग काम गर्न छाड्यो । थापाको शरीर नै नचिनिने भएको थियो । यतिसम्म पुगेका थिए, आमाले समेत उनलाई चिन्न सकिनन् । उनी सुध्रन चाहन्थे । तर, सकिरहेका थिएनन् । घरमा बुवाको निधनले पीडा त थियो नै अब बुढी भएको आमालाई कसरी सहयोग गर्ने भन्ने चिन्ताले सताउन थाल्यो । अब यो कुलतबाट कसरी बाहिर आउने भनेर सताउन थाल्यो । लागूऔषध सेवन, झगडा र प्रहरी हिरासत त सामान्य हुन थाल्यो । खान बस्न र सुत्ने समयको ठेगान भएन । सारै दुःख भएपछि थापालाई लागूपदार्थ सेवन छाड्न मन लाग्यो । तर, कसरी ?
सुधार केन्द्रको खोजी
दुव्र्यसनीमा फसेकालाई उद्धार गर्ने सुधार केन्द्र खुलेका छन् भन्ने थाहा थियो उनलाई । उनी खोज्दै खोज्दै आफैँ सुधार केन्द्र पुगे । काँकरभिट्टामा ३ महिना सुधार केन्द्र बसेपछि आफैँ सुधार केन्द्र खोेले । मान्छेहरुले ‘ड्रग्स लिने’ भनेर हेयको व्यवहार गर्न थाले । जुन कुरा नराम्ररी चिडिएका उनी आफैले सुधार केन्द्र खोल्ने निधो गरे । मेचीनगर–६ स्थित काँकरभिट्टामा महिनाको ५० हजार घर भाडामा लिएर थापाले सुधार केन्द्र खुलेका छन् । विगतमा आफूले भोगेजस्तो समस्या अरूले भोग्नु नपरोस् भन्ने उद्देश्यले स्थापना गरेको सुधार केन्द्रमा अहिले १५ जनाको उपचार भइरहेको छ । उनी अहिले सन्तुष्ट छन् ।
नशाले मानिसलाई अर्धपागल बनाउँछ । हिरोइन, कोकिनलगायत लागूऔषधले मानिसको ज्यान पनि लिन्छ । यसर्थ, लागूपदार्थ सेवनबाट टाढा रहन सुझाव दिन्छन् उनी । बिग्रनुको दोष आफैलाई दिन्छन् उनी । ‘सरहरुको सल्लाह र घरपरिवारको कुरा सुनेको भए बिग्रिनथेँ कि !,’
उनी भन्छन्, ‘खराब साथीभाइहरुको संगत हुनु पनि पीडा रहेछ ।’ विगतमा जे-जे भए पनि अहिले थापा खुसी छन् । उनी विगत सम्झेर होइन, भविष्यको कल्पनामा रमाउँछन् । अचेल उनी सुधार केन्द्रमा आएकालाई नयाँ जीवन जिउने तरिका सिकाउँछन् । भोगाइ सुनाउँछन् । र, पुनर्जीवन दिन्छन् । अहिले उनमा धनी हुने चाह छैन । उनले युवालाई पुनर्जीवन दिने चाहना मनभरि पालेका छन् । सन्दिप भन्छन्, ‘विगतलाई धिक्कार्छन्, वर्तमानप्रति गर्व गर्छन् ।