News Portal

झापामा पक्राउ परेकालाई रिहाइको माग गर्दै पहिचानवादीहरूको प्रदर्शन

रातोपोस्ट संवाददाता
१६९ पटक

झापा, १६ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा प्रहरीमाथि ढुङ्गा प्रहार गर्दा पक्राउ परेका आन्दोलनकारीहरूको रिहाइको माग गर्दै पहिचानवादीहरूले सदरमुकाम झापाकाे भद्रपुरमा प्रदर्शन गरेका छन् ।

शुक्रवार विभिन्न चर्का नाराबाजी गर्दै पहिचानवादीहरूले विरोध प्रदर्शनसँगै जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिएका हुन् । आफूहरूले प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई निशर्त रिहाइका लागि ज्ञापन पत्रसमेत बुझाएको १ नं प्रदेश पुनः नामाङ्कन सङ्घर्ष समितिका संयोजकसमेत रहेका आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीले बताए ।

उनले आइतबारसम्म रिहाइ गर्ने आश्वासन प्रजिअ पोखरेलले दिएको जानकारी दिए । तर, प्रहरी प्रशासनले पक्राउ परेका तीनै जना विरुद्ध मुद्दा दायर गरिसकेको छ । उनीहरूलाई अदालतमा लगेर म्याद थप गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।

झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित एमाले अध्यक्ष ओलीको कार्यक्रममा कोसी प्रदेश नामकरणको विरुद्धमा आन्दोलित पहिचानवादीहरूले आक्रमण गर्ने प्रयास गरेका थिए । एमाले अध्यक्ष ओली बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदै गर्दा कार्यक्रम स्थल नजिकै पहिचानवादीहरूले उनलाई कालो झन्डा देखाउँदै चर्का नाराबाजी गरेका थिए। उनीहरूले ओली सवार गाडीसमेत सडकमै रोक्न खोजेका थिए।

एमाले अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने पहिचानवादीहरूले हानेको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल मावोहाङसहित दुई प्रहरी घाइते भएका थिए । प्रहरी निरीक्षक मावोहाङ र सहायक हवल्दार सोमित राजवंशी घाइते भएका हुन् । दुवैको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मित्र लिङ्देन, पूरण राई ९बुलेट किराँती० र बलिहाङ मावोमाथि मुद्दा दायर गरिएको छ ।

प्रतिकृया दिनुहोस्