News Portal

मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउँछौं: उपप्रधानमन्त्री श्रेष्ठ

रातोपोस्ट संवाददाता
२०४ पटक

काठमाडौं, २३ वैशाख । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन्। शनिबार बनस्थली, खरिबटस्थित आश्रममा पुगेर उनले त्यहाँका गतिविधिबारे विस्तृत जानकारी समेत लिएका छन्।

आश्रमको उदाहरणीय, मानवीय र नमुनायोग्य काम र क्रियाशीलताको निरन्तरताका लागि आफ्नो र सरकारको सम्पुर्ण साथ रहने प्रतिबद्धता समेत उपप्रधानमन्त्री श्रेष्ठले व्यक्त गरेका थिए। आश्रमलाई सहयोग गर्ने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आफूले आज वा भोलि कार्यसूची नै बनाएर छलफल गर्ने र प्रधानमन्त्री स्वयंले पनि राष्ट्रिय संवेदनाका यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति लिएकाले आश्रमको गतिविधिलाई थप उचाइमा पुर्‍याइने बताए।

आश्रमले १० वर्षदेखि ‘सहयोगापेक्षी सडक आश्रीत मानव मुक्त राष्ट्र’ जस्तो चुनौतीपूर्ण अभियानको प्रभावकारी संचालन गर्न सकेकोमा उनले खुसी प्रकट गरेका थिए। आश्रमले २०८२ सम्ममा सडक मानव मुक्त राष्ट्रको उद्देश्य सफल गरिछाड्ने लक्ष्य लिएको छ। हाल देशभरीका २३ आश्रममा १६ सयभन्दा बढी आश्रीतहरू छन्, जो विभिन्न पारिवारिक समस्या, परिवार पहिचानको समस्या र रोग आदिका कारणले सडकमा पुगेका थिए।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडक आश्रीतहरूलाई खोजीखोजी आश्रय दिने गरेको छ। आश्रमको सेवापछि हालसम्म २२ सयभन्दा बढी आश्रीतहरू आफ्नै घर-परिवारमा फिर्ता भएका छन्। आश्रममा सयभन्दा बढी स्वयंसेवी छन्।

प्रतिकृया दिनुहोस्