झापा, २ असार । विभिन्न प्रजातिका चराहरुको खानी रहेको मेचीनगरमा आन्तरिक तथा बाह्य क्षेत्रका विज्ञहरु खोज तथा अनुसन्धानका लागि यहाँ आउन थालेका छन् । काठमाडौँ स्थित थर्ड पोल कन्जरभेन्सी संस्थाबाट गंगाराम रेग्मीको नेतृत्वमा चरा तथा बन्यजन्तुको खोज तथा अनुसन्धानका लागि मेचीनगर आइपुगेका हुन् ।
रेग्मीको नेतृत्वमा बन्यजन्तुका विज्ञहरु मित्र पाण्डे, ग्याजो लामा झापा आएका हुन् । उनीहरुलाई मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले मेचीनगरमा पाइने चरा तथा बन्यजन्तुका विषयमा प्रत्यक्ष अवलोकन भ्रमण गराएका छन् । खरेलले टोलीलाई मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टाको चिया वगानको विशेष क्षेत्रमा पाइने ३२ प्रजातिका चराहरुको प्रत्यक्ष अवलोकन गराएका थिए ।
टोलीलाई गर्मीमा आउने आगन्तुक चराहरु कालोटाउके विरहीचरी, गाजले सुनचरी, सानो जुरे कोइलीका विषयमा पनि खरेलले जानकारी गराएका थिए । त्यस्तै मेचीनगर–५ को माङ्हिम टोलका केही क्षेत्रमा पाइने ३१ प्रजातिका चराहरुको समेत अवलोकन गराइएको थियो । टोलीलाई यहाँ गर्मीमा आउने आगन्तुक चराहरु स्वर्गचरी, कालो जुन वकुल्ला, निलपुच्छे, मुरलीचराहरुको प्रत्यक्ष अवलोकन गराइएको खरेलले बताए ।
नेपालमा पाइने विभिन्न प्रजातिका ९८२ चरा मध्ये मेचीनगरमा हरित परेवासहित ३२५ चराहरु पाइने गरेको छ ।अवलोकनको क्रममा मेचीनगरमा धेरै प्रजातिका चराहरु पाइने कुरामा रेग्मीको नेतृत्वमा आएको टोली आश्वस्त भएको खरेलको बुझाई छ । टोलीले ध्वाँसे चितुवा तथा अन्य वन्यजन्तुको अवस्था बुझ्न कनकाई नगरपालिकाको जामुनखाडी सिमसारको वन्यजन्तु उद्दार केन्द्रको अवलोकन समेत गरेको थियो । यसअघि पनि चरा, हात्ती तथा वन्यजन्तुको अवस्था बुझ्न स्वदेशी तथा विदेशी यस सम्बन्धीका विशेषज्ञहरु मेचीनगर आइरहेको उनको भनाई छ ।