मेचीनगर, ६ असार । झापा- १ बाट निर्वाचित एमालेका पूर्व सांसद श्रीप्रसाद मैनालीमाथि आज मेचीनगरमा आफ्नै पार्टीका कार्यकर्ताहरुले हातपात गरेका छन् । काँकरभिट्टा खानेपानीको सभाहलमा द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन आएका कोशी प्रदेशका पूर्व सांसद मैनालीलाई एमालेकै जिल्ला कमिटी सदस्य भुपाल ओलीले हातपात गरेका हुन् ।
कार्यक्रममा एमाले नेता मैनाली आउने थाहा पाएपछि ओली कार्यक्रम स्थलमा ढुकेर बसेका थिए । मैनाली आउने वित्तिकै आक्रमण शैलीमा हातपात गरेको प्रत्यक्षदर्शीको भनाई छ । पूर्व मेची वस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले ओलीले पाँच बर्षअघि बसको टिकट काउन्टर नदिएको विषयमा विवाद झिकेर मैनालीमाथि हातपात गरेको दावी गरे ।
तत्कालिन मेची वस व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका मैनालीलाई हातपात गरेको कारण प्रालिले ओलीलाई पक्राउ गरि कारवाही गर्न माग गर्दे जाहेरी दिएको अध्यक्ष श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारतीले सम्बन्धीत पक्षबाट निवेदन आएको बताए । ओली फरार रहेकाले खोजी कार्य भइरहेको जानकारी दिए ।