News Portal

सिरहामा प्रहरी जवानलाई नै ११ घन्टासम्म बाँधेर दिइयो यातना

रातोपोस्ट संवाददाता
१७८ पटक

सिरहा, २७ असार । सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ। जिल्ला प्रहरी कार्यायल सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको भिडिओ सार्वजनिक भएको छ। ड्युटी समय बढी भएको गुनासो गर्न जाँदा मंगलबार दिउँसो प्रहरी निरीक्षक हेमन्त राईले कार्यालयमा बाँधेर राखेको पीडित प्रहरी जवानका भाइ रजनिश रायले बताए।

‘इन्स्पेक्टरले गाली गरेर बुटैबुटले हिर्काएका छन्। ११ घन्टासम्म बाँधेर कुटेका छन्,’ उनले भने। यो घटनामा संलग्न प्रहरीविरूद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको उनको भनाइ छ। जिल्ला प्रहरी कार्यालय सिरहाले भने घटना ढाकछोप गर्न फरक-फरक जानकारी दिइरहेको छ।

कार्यालयका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्र राज पाण्डेयले जिल्ला अदालतको गेटमा स्थानीयलाई कुट्दै हिँडेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको बताए। तर एसपी टेकुनन्द ईवा लिम्बुले भने ड्युटीमा खटिएको प्रहरीको हतियार खोसेर प्रहरी जवान रायले भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको बताए।

प्रहरी जवान राय लागुऔषध सेवनकर्ता रहेको र ड्युटीसमेत गर्न नचाहेको उनको दाबी छ। ‘उसले ड्युटी जाँदैन भन्यो। हाम्रो ड्युटीवाला प्रहरीको हतियार खोस्ने प्रयास गर्‍यो। हतियार खोस्न सकेन्, बाहिर निस्केर भाग्यो। मर्छु जान्छु भनेर गयो। प्रहरीले पाँच सय मिटर पर गरेर नियन्त्रणमा लियो। हतकडी लगाएर उनलाई कस्टडीमै लिएर आयौं किनभने ब्यारेकमै छोडदिएको भए केही घटना गर्न सक्छ भन्ने आशंका भयो,’ उनले भने। उनले रायलाई हत्कडीमात्र लगाएको, कुटपिट भने नगरेको दाबी गरे।

प्रतिकृया दिनुहोस्