झापा, ६ भदौ । गायिका मेलिना राईले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अक्षयकोषका लागि ५० हजार सहयोग गरेकी छन् । फोनिजको २४औँ स्थापना दिवसको अवसर पारेर गायिका राईले उक्त रकम आफ्ना प्रतिनिधिमार्फत हस्तान्तरण गरेकी हुन् ।
फोनिज झापाले मंगलबार बिर्तामोडमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा अक्षयकोषका संयोजक एवमु पूर्व अध्यक्ष गणेशमान मुखियालाई गायिका राईको तर्फबाट सञ्चारकर्मी सजन राईले चेक हस्तान्तरण गरे । फोनिज झापाले अग्रज पत्रकार स्व डिकमान सुनुवार विरहीको स्मृतिमा स्थापना गरेको अक्षयकोषमा गायिका राईले उक्त रकम सहयोग गरेको फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बाले बताइन् ।
अक्षय कोषबाट प्राप्त हुने ब्याजसहितको रकमले प्रत्येक वर्ष झापाली पत्रकारितामा योगदान गर्ने एक जना पत्रकारलाई डिकमान सुनुवार विरही स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ । फोनिजले अब उक्त पुरस्कार प्रत्येक दुई वर्षमा वितरण गर्ने निणर्य गरेको अध्यक्ष लिम्वूले जानकारी दिइन् । फोनिजले उक्त पुरस्कारको राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ ।