मेचीनगर, २० भदाै । सोमबार दिनभर सुनसान रहेको मेचीनगर नगरपालिकाको कार्यालय दिउँसोको ३ बजेसँगै एकाएक गुल्जार भयो । केही जनप्रतिनिधि हतारिँदै आइपुगे । नगरपालिकाको काम कारवाहीबाट वाक्कदिक्क बनेका किसानदेखि सामान्य नागरिकसम्म अचानक जुटे । कारण थियो, बडा नम्वर ४ का अध्यक्ष अर्जुनकुमार कार्की, वडा नम्वर १० का अध्यक्ष नारायण खनाल र वडा नम्वर १३ का अध्यक्ष कृष्णराज सिग्देलले गरेको पत्रकार सम्मेलन ।
कर्मचारीबीचको ‘जुँगाको लडाईँ’ ले लामो समयदेखि ‘अनिर्णयको बन्दी’ बनेको नगरपालिका र कर्मचारी विरुद्ध तीनजना जनप्रतिनिधि खनिए । सामाजिक विकास अधिकृत अनन्तप्रकाश वस्ती र लेखा अधिकृत पदमबहादुर कार्कीबीच लामो समयदेखि ‘को बरिष्ठ ?’ भन्ने लडाईँ छ । ती दुई कर्मचारीको यो विवादको प्रत्यक्ष मारमा स्थानीय सेवाग्राही त परेकै छन् । जनप्रतिनिधिहरु समेत परेका छन् । त्यही भएर जनप्रतिनिधिहरु विरोधमै उत्रिनु परेको हो ।
कर्मचारीहरुलाई ८ बुँदे प्रश्न गर्दै ४८ घण्टाभित्र चित्तबुझ्दो जवाफ दिन, यदि नदिए जनकारवाहीको चेतावनी नै दिए । ‘नगरपालिकाका कर्मचारीहरुका कारण आम नगरवासीले अत्यधिक सास्ती व्यहोर्नुपरेको छ’, वडा नम्वर ४ का अध्यक्ष कार्कीले आक्रोसित हुँदै भने, ‘४८ घण्टाभित्र समस्या समाधान नगरे हामी चरणबद्ध आन्दोलनमा उत्रन्छौँ ।’
यदि ४८ घण्टाभित्र जवाफ नआए कर्मचारीहरुलाई नगरपालिकाको गेटबाट भित्रै पस्न नदिने उनीहरुको चेतावनी पनि छ । ‘४८ घण्टा भित्र हाम्रो प्रश्नको जवाफ नआए अप्रिय घटना घटन सक्छ, त्यसको जिम्मा तिनै कर्मचारीहरुले लिनु पर्छ,’ कार्यालय प्रवेश गर्ने मुल गेटमै आयोजित पत्रकार सम्मेलनमा मेचीनगर ४ का वडाध्यक्ष कार्कीले भने ।
वस्ती–कार्की विवाद कयौँ पटक छताछुल्ल भई सतहमै आइसकेको छ । यी कर्मचारीले एक अर्कालाई भौतिक आक्रमण समेत गरिसकेका छन् । यो मुद्धा अदालतमा विचाराधीन छ । यो विवादका कारण नगरपालिकाका अधिकांश कर्मचारीहरू पनि विभाजित छन् । जसका कारण नगरमा पटक–पटक विवाद निस्किन्छ । जुन विवादको चपेटामा नागरिकहरु मात्रै नभएर स्वयम् जनप्रतिनिधिहरु परेका छन् ।
सोमबार दिउँसो नगरपालिकाको गेटबाट दिइएको चेतावनी समेत सोझै कर्मचारीसँग गएर जोडिन्छ । कर्मचारीहरुले दिएको सास्ती सम्झँदा नगरपालिका नै आउन मन नलाग्ने मेचीनगर १० का वडाअध्यक्ष नारायण खनालले बताए । ‘केही कर्मचारीहरुका कारण गाउँको सिंहदरबार भनिएको स्थानीय सरकार बन्धक बनेको छ, जसको विरुद्ध हामी मैदानमा छौँ’, उनले भने, ‘नगरपालिकाका कर्मचारीमा देखिएको जुन प्रवृत्ति छ त्यो सुधार नभएसम्म हामी चुप बस्दैनौँ, नगरपालिका आम नगरवासीको हो ।’
कर्मचारीको यस्तै प्रवृत्तिका विरुद्ध उभिएका मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले पनि आम नगरवासीलाई हैरानी दिने छुट कसैलाई नभएको बताए । ‘विधिको शासनमा चल्नुपर्ने नगरपालिका एकदुई जनाका कारण किन बन्धक बन्छ ?,’ उनले भने, ‘यो सुध्रियोस् अन्यथा गम्भीर कदम चाल्न हामी बाध्य हुनेछौँ ।’
मेचीनगरमा यति मात्रै होइन, समस्याका अनेक चाङ छन् । जुन हरेक समय सार्वजनिक भइरहेका छन्, कुनै समाचार बनेर त कुनै विवाद बनेर । नगरपालिकामा यति बेथिति छन् कि पत्रकारले नै नगरपालिकाबाट सूचना पाउँदैनन् । सूचना अधिकारीले पत्रकारलाई सूचना नै दिँदैनन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार नगरभित्रको प्रत्येक सूचना पाउने हक नागरिकमा छ । तर, यहाँ त वर्षौंदेखि सूचना लुकाइन्छ । सूचना दिने हैन, यहाँ लुकाउने अधिकारी राखिएको छ ।
विगतमा लेखा अधिकृत कार्की सूचना अधिकारी थिए । उनले नागरिकले मागेका सूचना दिइरहेका थिए । त्यही मेसोमा एकपटक ‘मकै काण्ड’ बाहिरिएपछि अर्का अधिकृत वस्तीले कार्कीलाई सूचना अधिकारीबाट हटाउन तत्कालीन मेयर विमल आचार्यलाई दवाव दिए र हटाए पनि । अहिले वस्तीका विश्वास पात्र अशोक भेटवाललाई सूचना अधिकारीको जिम्मेवारी तोकिएको छ । आइटी हेर्ने करारका यी कर्मचारीले अहिलेसम्म एउटा पनि सूचना दिएका छैनन् । ‘बरु ढुंगो बोल्ला भेटवाल जी बोल्दैनन्’, सूचना माग्दा माग्दा थाकेका एक स्थानीयले भने, ‘विचार उनलाई सूचना नदिनु भन्ने आदेश आएको होला अनि किन दिन्थे सूचना ।’
आम नगरवासीले भोग्नुपर्ने समस्या उस्तै । वडाध्यक्ष कार्कीले मंगलवार साँझ सामाजिक संजालमा पोष्ट गर्दै नगरभित्रको बेथिति क्रमशः बाहिर निकाल्न पत्रकारहरुलाई सक्दो सहयोग गर्ने बताए ।
नगरको कर्तुत उजार गर्छाै : वडाध्यक्ष कार्की
मेचीनगर नगरपालिकाले खरिद गरेको ७५ थान ल्यापटप कहाँ छ ? कसकसले बुझेको हो ? ६०० थान तारजाली खरीद गरेर कसकसलाई बाँडियो ? पत्रकार मित्रहरुले खोज्नु हुन अनुरोध गर्दछु । तपाईंहरुलाई सूचनाको हक प्रयोग गरेर त्यहाँका आवश्यक कागज पत्र देखाउन आलटाल गरे हामी पूर्ण सहयोग गर्ने छौं ।
मासु र भात खुवाएर विभिन्न तालिम र गोष्ठीको नाममा भ्रष्टाचार गर्नेहरुको सबै फायल खोजिने छ । त्यहाँभित्रका कर्तुतहरु अब १÷१ गरेर खोजिने छ । हामी निष्पक्ष र स्पष्ट भएर खोजी गर्नेछौँ । २ दिन विदा भएकोले हाम्रो हिजोको ४८ घण्टाको समयलाई आइतवारसम्मको समय सीमा निर्धारण गरिएको जानकारी अनुरोध गर्दछु । जनताको न्याय र कानुनको पक्षमा उभिन म सबै राजनीतिक दल, नागरिक समाज एवम सम्पूर्ण मेचीनगरका आदरणीय महानुभावमा हार्दिकतापूर्वक अपिल गर्दछु । हामी साना विषयबाट कर्तुतहरु उजागर गर्दै नगरको सम्पूर्ण गन्धहरुलाई देश र जनतासम्म छर्लंग पार्ने कोसिस गर्नेछौँ ।