News Portal

साहित्य चौतारी झापाले अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान

रातोपोस्ट संवाददाता
४५४ पटक

झापा, ३१ भदाै । साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र राष्ट्रिय बाल दिवसको अवसर पारेर झापाका विभिन्न पाँच जना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्ने स्रष्टा सर्जकहरुलाई राष्ट्रिय बालदिवसको अवसरमा शुक्रवार आयोजना गरिएको सांगीतिक काव्य सभामा दीर्घ साधना सम्मान प्रदान गरिएको हो ।

साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले स्थापनाकालदेखि जोडिएर साहित्य चौतारीको संस्थागत विकासमा अनरवत उल्लेखनीय योगदान दिएवापत स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिएको बताए ।प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यर साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्राज्ञ यज्ञराज प्रसाईसहित स्रष्टाहरू डिल्लीराज नेपाल, पून्यप्रसाद खरेल, जयनारायण ढुङ्गाना र हरिनारायण भट्टराईलाई सम्मान प्रदान गरिएको हो ।

यसअघि अघिल्ला मासिक सांगीतिक काव्य सभाको अवसरमा साहित्य चौतारीले अग्रज स्रष्टाहरू विजय खरेल, लीला उदासी, भवानी क्षेत्री र हरिचरण बानियाँलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो ।

गतसाता मात्रै साहित्य चौतारीको टोलीले इलामस्थित निजी निवासमा पुगेर गायक तथा संगीतकार कुबेर राईलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो । अस्वस्थ भएर घरमा स्वास्थ्य लाभ गरिरहेका बेला आर्थिक सहयोगसहित राईलाई उक्त सम्मान प्रदान गरिएको साहित्य चौतारीका संस्थापक श्रेष्ठले बताए ।

कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मासिक काव्यसभाकी संयोजक सुनिता तामाङले गरेकी थिइन् । कार्यक्रममा सम्मानित प्रतिभासहित साहित्य अच्युत घिमिरेले लगायतले बोलेका थिए ।

बाल प्रतिभाबीच प्रतिस्पर्धा

साहित्य चौतारीले बालदिवसको अवसरमा बाल प्रतिभाबीच पनि प्रतिस्पर्धा गराएको छ । अघिल्ला वर्षहरुमा जस्तै कविता, गीत र नृत्य विधामा चौतारीले बालप्रतिभा बीच प्रतिस्पर्धा गराएको हो । प्रतिस्पर्धामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कारसहित सम्मान गरिएको छ । बाल प्रतिभा दिया अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायनतर्फ अर्पण सिटौला प्रथम भएका छन् ।

प्रतियोगितामा प्रतिक्षा भट्टराई दोस्रो र सन्ध्या भट्टराई तेस्रो भएका छन् । प्रसम गुरागाईले सान्त्वना पुरस्कार जितेका छन् । नृत्यतर्फ इसिता मुखिया पहिलो, प्रेषा राई दोस्रो र साया सुवेदी तेस्रो भएका छन् । हरेक वर्ष बालप्रतिभा बीच भएको प्रतिस्पर्धामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने उत्कृष्ट प्रतिभालाई आगामी वर्षको कार्यक्रमका लागि साहित्य चौतारीले प्रमुख अतिथि बनाउँदै आएको छ ।

चौतारीको सभाहलमा गुञ्जिए मोतिराम र फत्तेमान

कवि मोतिराम भट्टलाई पनि साहित्य चौतारीले समरण गरेको छ । नेपाली साहित्यका प्रेरक व्यक्तित्वका रुपमा मोतिराम प्रसिद्ध छन् । मोतिरामसँगै कालजयी अमर सर्जक फत्तेमान राजभण्डारीलाई पनि साहित्य चौतारीले मासिक सांगीतिक काव्य सभाका अवसरमा सम्झिएको छ । १० औं स्मृति दिवसको अवसरमा उनका कालजयी सिर्जनाहरु सांगीतिक काव्य सभामा गुञ्जिएका हुन् । चौतारीले २०६२ सालमा फत्तेमानलाई प्रमुख अतिथि बनाएको थियो ।

त्रिकोणात्मक कार्यक्रमका बीच संरक्षकको जन्मदिन

साहित्य चौतारीले संस्थापक संरक्षक देवीभक्त श्रेष्ठको जन्मदिन पनि मनाएकोे छ । त्रिकोणात्मक कार्यक्रमका बीच संरक्षक श्रेष्ठको जन्मदिन मनाइएको हो । श्रेष्ठले शुक्रवार ६३ औँ जन्मदिन मनाएका छन् ।

कार्यक्रममा सहभागी स्रष्टा सर्जकले तीन पुस्ताका प्रतिभालाई ठाउँ दिने गरी साहित्य चौतारीमा संरक्षक श्रेष्ठले खेलेको भूमिकाको खुलेर प्रशंसा गरेका छन् । बालप्रतिभादेखि बुढ्यौली पुस्ताका प्रतिभाले साहित्य चौतारीमा नियमित ठाउँ पाइरहेका छन् । जन्मदिनले आफूलाई नयाँ उर्जा दिएको भन्दै संरक्षक श्रेष्ठले साहित्य चौतारीको फराकिलो आँगनमा अझ धेरै प्रतिभाहरु जन्मिने बताए ।

प्रतिकृया दिनुहोस्