झापा, २४ बैशाख । अगरबत्ती उत्पादन सुरु गरेको एक वर्षपछि मेचीनगरको अपाङ्गमैत्री सेवा सरोकार संस्थाले मेसिनमार्फत उत्पादन सुरु गरेको छ ।
मेचीनगर- १० मा रहेको संस्थाले यसअघि चारजना सदस्यहरुलाई रोजगारी दिएर हातकै माध्यमबाट अगरबत्ती उत्पादन गर्दै आएको थियो ।
झापाका विभिन्न बजारमा आफ्नो पहुँच बनाउँदै आएको संस्थाले बजारको मागलाई ख्याल गर्दै मेसिन भित्र्याएको अध्यक्ष राम बुढाथोकीले बताए ।
पछिल्लो समय बजारमा अगरबत्तीको माग बढ्न थालेपछि मेचीनगर नगरपालिकासँग सहयाेगमा मेसिन खरिद गरिएको उनले जानकारी दिए । नगरपालिकाले मेसिन खरिदका लागि २ लाख रुपैयाँ अनुदान दिएको थियो ।
संस्थाले विराटनगरबाट अगरबत्ती उत्पादनको लागि कच्चा पदार्थ ल्याउने गरेको बुढाथोकीले जानकारी दिए । मेसिनको प्रयोगबाट दैनिका ४५ केजीसम्म अगरबत्ती उत्पादन गर्न सकिने उनले बताए ।
अपाङ्गमैत्री सेवा सरोकार संस्था फरक क्षमता भएका व्यक्तिहरुको साझा संस्था हो । मेचीनगर- १० स्थित ढाटमा रहेको संस्था २०७८ सालमा स्थापना भएको थियो । संस्थामा हाल ४० जना सदस्य रहेका छन् ।