News Portal

भद्रपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा भण्डारीको मृत्यु, दुई घाइते

रातोपोस्ट संवाददाता
४४ पटक

झापा, २५ असाेज । झापाको भद्रपुरमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । मेची राजमार्ग अन्तरगत चारआली केचना सडक खण्डको भद्रपुर नगरपालिका- १० स्थित हनुमान चोकमा गएराति ९:५० मा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

प्रदेश १-०१-०१४ प ९९३ नम्बर को मोटरसाइकल चालक भद्रपुर- १० केन्द्र मोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घाइते भएका भण्डारीलाई ओमसाई हस्पिटल भद्रपुरमा पुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

त्यस्तै सोही मोटरसाइकलको पछाडि सवार भद्रपुर नगरपालिका- १० का २४ वर्षीय बिपान्सु राउत र मे ८ प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर- ८ का २५ वर्षीय संजिप गिरी घाइते भएका छन् । राउतको ओमसाई पाथीभरा हस्पिटलमा र गिरीको बीएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको डीएसपी चन्दले बताए । दुवै सवारीसाधन प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्