News Portal

मेची चेम्बरले धुलाबारीमा ‘अर्गानिक’ महोत्सव लगाउने

रातोपोस्ट संवाददाता
५६ पटक

धुलाबारी, २३ पुष । मेची चेम्बर अफ कमर्स मेचीनगरले झापाको मेचीनगरमा आगामी माघ ४ गतेदेखि ‘दोस्रो मेची महोत्सव–२०८१’ को आयोजना गर्ने भएको छ । स्थानीय क्षेत्रको कृषि तथा उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन, पहिचानसहित बजारीकरण र लागुऔषध नियन्त्रणको मुख्य योजना बनाएर नौ दिने महोत्सव धुलाबारीको कोलोनीमा आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । कृषि, व्यापार, पर्यटन, खेलकुद, सांस्कृतिक–सांगीतिक, औद्योगिक प्रवद्र्धनको पूर्वाधार–समृद्ध निर्माणको आधारसहित महोत्सवको योजना बनाइएको संस्थाका अध्यक्ष रविन बस्नेतले जानकारी दिए ।

अन्य मेला–महोत्सवभन्दा छुट्टै विशेषतासहित सञ्चालन गरिने दोस्रो महोत्सवमा कृषि र उद्योगबाट उत्पादित स्थानीय वस्तुको प्रवद्र्धन तथा बजारीकरणसहित समाजमा ब्याप्त बनेको लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि जनचेतनामूलक छलफल र सुझाव लिने जनाइएको छ । स्थानीय क्षेत्रमा उत्पादन सामाग्रीलाई कसरी बजारीकरण गर्ने भन्ने बिषयमा सन्देश दिन अर्गानिक ढंगले महोत्सवको तयारी गरिएको अध्यक्ष बस्नेतको भनाई छ । नगर भित्र सञ्चालनमा रहेका सामुदायिक तथा निजी विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा अभिभावकलाई सहभागी गराइने महोत्सवको अर्को योजना रहेको संस्थाका वाणिज्य उपाध्यक्ष शान्तिराम चिमरियाले जानकारी दिए ।

मेलामा ३६ वटा स्थानीय कृषि तथा साना–ठुला उद्योगबाट उत्पादन भएका वस्तुको स्टल राखिने, मेला अवधिभर निःशुल्क स्वास्थ्य उपचार, रक्तदानसहितको शिविर सञ्चालन गरिने संस्थाका वाणिज्य उपाध्यक्ष भीम कुँवरले बताए । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, कृषि उत्पादनलाई प्रोत्साहन र लागुऔषध दुरुत्साहन गर्ने योजना अनुरुप महोत्सवको तयारी गरिएको कुँवरको भनाई छ । आगामी माघ ४ देखि माघ १२ गतेसम्म सञ्चालन गरिने महोत्सवलाई सफलता बनाउन २१ जनाको सचिवालय गठन गरिएको महासचिव प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार महोत्सव सम्पन्न गर्न ६ लाख ५० हजार लाग्ने अनुमान गरिएको र मुख्य प्रायोजकका लागि नगरपालिका र अन्य संघ–संस्थासँग समन्वय गरिने महासचिव खड्काले बताए । महोत्सवमा खेलकुद सितोरियो कराँते, तेक्वान्दो लगायतका खेल गतिविधि गराइने छ । साथै, नगरभित्र लोपोन्मुख जातजातिका सांस्कृतिक झाँकी नृत्य र मनोरन्जनात्मक खेल तमासा समेत खेलाइने बताइएको छ ।

प्रतिकृया दिनुहोस्