News Portal

सौतेनी आमासँग अनैतिक सम्बन्ध लुकाउन बाबुको हत्या

रातोपोस्ट संवाददाता
८३६ पटक

भोजपुर ।भोजपुरमा कान्छी आमासँगको अनैतिक सम्बन्ध लुकाउन छोराले बाबुको हत्या गरेको खुलेको छ ।

भोजपुर नगरपालिका–११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले ५६ वर्षीया कान्छी आमा कर्णशोभा राईसँग मिलेर ८८ वर्षीय बाबु दलबहादुर राईको हत्या गरेको प्रहरीले बताएको छ ।

कान्छी आमासँग अनैतिक सम्बन्ध रहेका राईले गत असोज २५ गते बाबु दलबहादुरलाई घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । गत असोज २५ गते सम्पर्कविहीन भएका दलबहादुरको खोजी गर्ने क्रममा प्रहरीले उनको शव मंसिर १ गते स्थानीय शोहन खोलामा सडेको अवस्थामा फेला पारेको थियो ।

दशैैको टिका लगाउन दलबहादुर र उनकी कान्छी श्रीमती कर्णशोभा स्थानीय बाँसबोटे गएको दुईदिनपछि दलबहादुर सम्पर्कविहीन भएको प्रहरीको भनाई छ । राईको शव शंकास्पद रुपमा भेटिएपछि अनुसन्धानका क्रममा हत्या भएको पुष्टिपछि अभियुक्त छोरा र आमालाई प्रहरीले पक्राउ गरेको थियो ।

असोज २५ गते दशैंको टीका थापेर घर नजिकै आइपुगेपछि छोरा हरिबहादुरले ८८ बर्षीय बृद्ध बाबुको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। हत्या हुँदा श्रीमती कर्णशोभा पनि सँगै भएको र कुनै प्रतिवाद नगरेको बयानमा हरिबहादुरले बताएका छन् ।

हत्या गर्नुको मुख्य कारण थियो हरिबहादुर र कान्छी श्रीमती कर्णशोभाबीचको अनैतिक सम्बन्ध। सोहि सम्बन्धका कारण हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । अभियुक्त हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैयाँ दिएर दलबहादुरको शव डोकोमा हाली खोलामा फ्याँक्न लगाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख  नरबहादुर सलामी मगरले बताए ।

पक्राउ परेका हरिबहादुर र कर्णशोभालाई कर्तव्य ज्यान मुद्दा हाली पुर्पक्षका लागि राखिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न सन्तोष विक र नारायण विकलाई पनि कर्तव्य ज्यान मुद्दा अन्तर्गतको मतियार मुद्दा हाली पुर्पक्षका लागि राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्