News Portal

काँकरभिट्टाबाट डेढलाख रकम असुल्ने नक्कली इन्सपेक्टर पक्राउ

रातोपोस्ट संवाददाता
१४९५ पटक

झापा । नेपाल प्रहरीको प्रहरी निरीक्षक भएको बताएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्ले रहेका छन् ।

वाग्लेलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले पक्राउ गरेकाे झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

वाग्लेसँग नेपाल प्रहरी गृह मन्त्रालयको परिचयपत्र फेला परेको छ। उनले परिचय पत्रको दर्जामा प्रहरी निरीक्षक लेखेका छन्।

वाग्लेले आफू नेपाल प्रहरीको प्रहरी निरीक्षक भन्दै जिल्ला सोलुखुम्बु नेचेसल्यान गाउँपालिका ३ बस्ने २० वर्षीय पुण्यप्रसाद कट्टेल र जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ बस्ने १९ वर्षीय सफल आचार्यसँग डेढ लाख रकम असुल्दैप्रहरीको असईमा जागिर लगाई दिन्छु भनेर ठगी गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

‘नक्कली प्रहरी निरीक्षक बनेर वाग्ले स्थानीय युवाबाट रकम ठगी गरेको प्रहरीमा उजुरी परेको थियो’ प्रहरी नायव उपरीक्षक श्रेष्ठले भने, ‘सोही उजुरीको आधारमा वाग्लेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।’

प्रहरीसँग प्रारम्भिक बयानमा वाग्लेले बिराटनगरमा रहेको एक कम्युनिकेशन सेन्टरबाट नक्कली कार्ड बनाएको बताएका छन् । उनीविरुद्ध जिल्ला अदालत, झापाबाट मुलुकी अपराध संहिताको ठगी तथा सरकारी कागजात कीर्ते सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्