News Portal

दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट सुरू

रातोपोस्ट संवाददाता
५०६ पटक

झापा। मेचीनगर ६ स्थित काँकरभिट्टामा दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट शुक्रबारबाट सुरू भएको छ ।

प्रतियोगिताको उद्घाटन मेचीनगर – ६ का वडाध्यक्ष ललित तामाङले गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तामाङले यस्ता प्रतियोगिताहरूले खेलाडीहरूलाई खेलप्रति आकर्षण गर्नुका साथै थप उर्जा मिलेको बताए ।

त्यसैगरी शुभकामना मन्तव्य राख्दै बालकृष्ण थापा, काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष एवम् राष्ट्रिय महिला फुटवल टिमका गोलकिपर प्रशिक्षक मिन बहादुर बस्नेत र बालजीत राईले खेल क्षेत्रबाट नेपाललाई विश्वसामु चिनाउन सकिने भन्दै सरकारले खेलक्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताए ।

कार्यक्रममा नाइटचेस क्लब काँकरभिट्टाका महासचिव अशोक राई, नेपाल सुनचाँदी व्यवसायी संघ मेचीनगर शाखाका अध्यक्ष राजेश गहतराज, अमित श्रेष्ठ आशिष गजमेर, कर्ण थापा मगरलगायतको आतिथ्यता रहेको थियो ।

ब्लाक एट पोल एण्ड स्नोकर मेचीनगका अध्यक्ष निमा वाङगेल तामाङ (राजु) को अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको कार्यक्रम सञ्चालन आयोजकका कुलदीप राईले गरेका थिए ।

ब्लाक एट पोल एण्ड स्नोकर मेचीनगको आयोजनामा सञ्चालित प्रतियोगितामा मेचीनगरका ३० जना खेलाडी सहभागी छन् ।

प्रतियोगिताको मार्करमा पूर्व स्नोकर खेलाडी पासाङ शेर्पा, कर्ण थापामगर र सचित श्रेष्ठ रहेका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार रुपैयाँसहित ट्रफी, द्धितिय हुनेले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

त्यसैगरी प्रतियोगिताको हाइस ब्रेकरले नगद २ हजार ५०० सहित ट्रफी पाउने छन् ।

प्रतियोगिता फागुन २६ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्