News Portal

भारतमा रेल चलेपछि सीमावर्ती पानीटेंकीमा जम्मा भए नेपाली

रातोपोस्ट संवाददाता
९५० पटक

झापा। भारतमा ट्रेन चल्न थालेपछि भारतको विभिन्न स्थानबाट नेपालीहरू पूर्वी नेपालको सीमावर्ती बजार काँकरभिट्टा पारिपट्टि पानीटेंकीमा जम्मा भएका छन्।

जिल्ला प्रशासन कार्यालय झापाको जानकारीमा आएसम्म मंगलबारसम्ममा करिब ४ सय नेपाली पानीटेंकीमा जम्मा भएका हुन्।

तर करिब एक हजार जना नेपालीहरूका लागि व्यवस्था मिलाउनुपर्ने आवश्यक्ता रहेको झापाका प्रमुख जिल्ला अधिकार उदयबहादुर रानाले जानकारी दिए।

भारतीय सीमामा रहेका नेपालीहरूलाई कसरी व्यवस्थित गरेर राख्ने भन्ने विषयमा धेरै पटक छलफल भए पनि अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन।

संघीय सरकारले सीमावर्ती नेपाली भूमिमा क्वारेन्टाइन राख्ने भने पनि पालिकाहरूले उनीहरूलाई राख्नका लागि पर्याप्त क्वारेन्टाइनको निर्माण नै गरेका छैनन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार झापामा पालिकाहरू बाहेक करिब साढे तीनसय जनाको क्वारेन्टाइन बनाइएको छ। तर सबै नेपालीहरूलाई क्वारेन्टाइनमा राख्न कतिपय पालिकाहरु सकारात्मक छैनन्।

प्रमुख जिल्ला अधिकारी रानाका अनुसार माइ नदी पश्चिमका पालिकाहरूले भारतबाट आउने नेपालीहरूलाई राख्न नदिने भएका छन्।

कतिपय भारतीय सीमावर्ती बजारहरूबाट नेपालीहरू नेपाल छिर्न थालिसकेका छन्। तर नेपालमा भने उनीहरूलाई कसरी राख्ने भन्ने कुनै ठेगान छैन।

भारतबाट आएकाहरू सिधै समुदायमा गए कोरोना भाइरसको संक्रमण झन् तीब्र बन्ने विज्ञहरूले बताएका छन्।

प्रतिकृया दिनुहोस्