News Portal

होटल व्यवसायी संघ झापाले बुझायो सिडिओ मार्फत मुख्यमन्त्रीलाई ज्ञापन पत्र

रातोपोस्ट संवाददाता
५०८ पटक

झापा । होटल ब्यवसायी संघ झापाले राहतको व्याकेज घोषणा गर्न प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई जिल्ला प्रशासन कार्यालय झापामार्फत ज्ञापन पत्र बुझाएका छन् ।

संघले होटल व्यसायको क्षेत्रमा लकडाउनका कारण ठूलो असर परेको भन्दै प्रजिअ उदयबहादुर राना मगरमार्फत मन्त्री राईलाई मंगलबार राहत प्याकेज घोषणा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।

संघ जिल्ला अध्यक्ष इन्दिरा श्रेष्ठले ज्ञापन पत्र बुझाउदै कोरोना भाइरसका कारण विश्वकै अर्थतन्त्रमा नकारात्मक असर परिरहेको र नेपालमा पनि लामो समयदेखि भएको लकडाउनका कारण होटल ब्यवसाय क्षेत्र अस्तब्यस्त भएको बताइन् ।

ज्ञापन पत्रमा लकडाउनको अवधिभरको पूर्ण रुपमा भाडा छुट हुनुपर्ने र ६ महिनासम्म ५० प्रतिशत छुटको ब्यवस्था गरिनुपर्ने, वित्तिय संस्थाको ब्याज मिनाह तथा ऋण भुक्तानी गर्नु पर्ने समय बढाउनुपर्ने, लकडाउनको अवधिमा कुनै पनि वित्तिय संस्थाको किस्ता तिर्न नसक्ने, बिजुली र पानीमा न्यूत्तम शुल्क मात्रै लिनुपर्ने, ब्यवसायलाई धितोमा राखेर सहुल्यतमा ऋण उपलब्ध सरकारले गराउनुपर्ने लगायतका मागहरु रहेका उनले बताइन् ।

लकडाउन खुलेर व्यवसाय सञ्चालनमा आएपछि सर्तकता अपनाएर व्यवसाय सञ्चालन गर्ने भएकाले होटल क्षेत्रमा कोरोना भाइरसको असर निकै लामो समयसम्म पर्ने अनुमान गरिएको छ ।

लामो समय ब्यवसाय बन्द गर्नु पर्दा आफुहरु समस्यामा परेको ब्यसायीहरुको भनाई छ । ज्ञापनत्र पत्र बुझाउन अध्यक्ष श्रेष्ठ सहित, वरिष्ठ उपाध्यक्ष नरेश महरा, महासचिव शिव पौडल जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी रानाले ब्यवसायीको समस्याको विषयमा सरकार गम्भिर रहेको उल्लेख गरे । ज्ञापनपत्र मुख्यमन्त्री राईलाई पठाउने भन्दै व्यासायीको हितमा प्रदेश सरकारले निर्णय लिने आश्वासन दिएका छन् । जिल्लामा मात्र करिब पाँच हजारभन्दा धेरै होटलहरु सञ्चालनमा रहेको छ ।

प्रतिकृया दिनुहोस्