News Portal

आइपिएलः सुपर ओभरमा दिल्लीले पञ्जाबलाई हरायो

रातोपोस्ट संवाददाता
९९६ पटक

काठमाडौं, असोज ५ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्‍न खेलमा दिल्ली क्यापिटल्सले जीत निकालेको छ । दुबईमा भएको खेलमा दिल्लीले किङ्स इलाभेन पञ्‍जाबलाई सुपर ओभरमा हराएको हो ।

खेलमा टस हारेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो सुरुवात राम्रो गर्न नसकेको दिल्लीले १३ रनमै ३ विकेट गुमाइसकेको थियो । त्यसपछि आएका श्रेयस अय्यर रिषभ पन्त र मार्कस स्टोइनिसले इनिङ सम्हालेका थिए ।

दिल्लीका लागि स्टोइनिसले सर्वाधिक ५३ रन बनाए । उनले २० बलमै अर्धशतक पूरा गरेका थिए । त्यसैगरी अय्यरले ३९ रप पन्तले ३१ रन बनाए । पञ्‍जाबका मोहम्मद शामीले ३ तथा शेल्डन कट्रेलले २ विकेट लिए ।

जवाफमा १५८ रनको लक्ष्य पछ्याएको पञ्‍जाबले २० ओभरमा १५७ रन नै बनायो । उसका लागि मयंक अगरवालले ८९ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकेनन् । अन्तिम ओभरमा १३ रन चाहिएको अवस्थामा मयंकले पहिलो बलमै छक्का प्रहार गरेका थिए । त्यसपछि दुई रन तथा त्यसपछि चौका प्रहार गरेपछि पञ्जाबलाई ३ बलमा १ रन मात्र आवश्यक थियो ।

तर त्यसपछिको बल डट र त्यसपछिको बल अफसाइडमा खेल्ने क्रममा मयंक क्याचआउट भएपछि पञ्‍जाबलाई १ बलमा १ रन चाहिएको थियो । स्ट्राइकमा रहेका क्रिस जोर्डन क्याचआउट भएपछि खेल बराबरी भएको थियो ।

सुपर ओभरमा पञ्‍जाबले २ रन मात्र बनाउन सक्यो । दिल्लीले ३ रन जोड्दै सुपर ओभर आफ्नो नाममा गर्‍यो र २ अंक बटुल्न सफल भयो । दिल्लीमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने पनि आबद्ध रहेका छन् । यद्यपि उनले यस खेलमा भने मौका पाएनन् ।

प्रतिकृया दिनुहोस्