News Portal

कालिका सामुदायिक वनको २५ औँ साधारणसभा सम्पन्न

रातोपोस्ट संवाददाता
८६९ पटक

झापा, ३० असोज । कालिका सामुदायिक वन उपभोक्ता समूह मेचीनगर नगरपालिका वडा – ११ र १२ को २५औँ साधारणसभा आज सम्पन्न भएको छ ।

समूहका अध्यक्ष योगराज भट्टराई (योगेश)को अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमुख अतिथि प्रदेश सभा सदस्य गोपालचन्द्र बुढाथोकी रहेका थिए । साधारण सभामा अध्यक्ष भट्टराईले आ.व.२०७७ / ०७८ को लागि तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आर्थिक बर्ष २०७६/ ०७७ मा सम्पन्न गर्न बाँकी रहेका योजनाहरु यो वर्ष पुरा गरिने उनले बताए । भट्टराईका अनुसार यसवर्ष गरिबि न्युनिकरण कार्यक्रम अन्तरगत विपन्न उपभोक्तालाई कोभिड – १९ ले आर्थिक मन्दी गराएको अवस्थामा खाद्यान्न स्वरुप मेचीनगर नगरपालिका वडा – ११ र १२ लाई क्रमशस् ४० हजार र ६० हजार साथै १५० घर धुरीमा ग्यास सिलिन्डर सेट र स्वास्थ्य स्वयमसेविका ३ महिने तालिम सञ्चालन गरी प्राथमिक उपचार सहयोगका लागि निशुल्क सामान सेट वितरण गरिएको बताए ।

आर्थिक बर्ष २०७७/ ०७८ मा कालिका सिमसार पर्यापर्यटन क्षेत्रलाई नेपालकै नमुना सिमसार क्षेत्र बनाउने लक्ष्यका साथ यस वर्ष सिमसार क्षेत्र घेराबेरा, अधुरो रहेको मेचीनगर झरना निर्माण गर्ने, सिमसार दक्षिण क्षेत्रमा अधुरो चिल्ड्रेन पार्क निर्माण गरी रेड पान्डा, जेब्रा, सानो परि,  चिप्लेटी र सोही क्षेत्रमा बासको सभाहल, पोखरी वरिपरी फुल गाडेन, पोखरीको बिचमा सिसाको घुम्ने घर निर्माण र पर्यापर्यटनलाई मध्यनजर गर्दै पर्यटकहरुलाई सुविधा हुने गरी मोटरबाट चल्ने नाउ खरिद गर्ने योजना रहेको भट्टराईले बताए ।

उक्त अवसरमा झापाका ५९ वटा सामुदायिक वन मध्ये उत्कृष्ट घोषित कालिका सामुदायिक वनलाई कार्यकमका प्रमख अतिथि प्रदेश सभा सदस्य बुढाथोकी र मेची सव डिभिजन वन कार्यालयका प्रमुख राजन राईले वनका अध्यक्ष भट्टराईलाई सम्मान पत्र प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य बुढाथोकी, मेचीनगर नगरपालिका वडा – ११ का वडाध्यक्ष सन्तोष मेचे, नेपाली काँग्रेस मेचीनगर नगरपालिका वडा – १२ का सभापति कालु मेचे, मेची सव डिभिजन वन कार्यालयका प्रमुख राजन राई,  नेपाल कम्युनिष्ट पार्टी मेचीनगर नगरपालिका वडा – १२ सचिव नविन विष्ट लगायतले आ-आफना धारणा राखेका थिए ।

समूहका उपाध्यक्ष पवित्रा मेचेले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मैना राजवंशीले गरेकी थिइन ।

 

प्रतिकृया दिनुहोस्