News Portal

पोखरापाटी डटकमका पत्रकार घिमिरे पक्राउ

रातोपोस्ट संवाददाता
६५१ पटक

पोखरा, ९ मंसिर । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सञ्चारकेन्द्र डटकम र पोखरापाटी डटकमका पत्रकार राजकुमार घिमिरेसहित ५ जनालाई हिजाे साँझ ७ बजे पक्राउ गरेको छ ।

नेकपा कास्कीले ७ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा सोमबार पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीवस्तीस्थित सुकुम्वासी बस्तीमा आयोजना गरेको जनसभा स्थलबाट नेकपाका कार्यकर्ताहरु कुमार परियार, यामप्रसाद भटराई, कालीबहादुर पाण्डे र विशाल श्रेष्ठलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले नेकपाका कार्यकर्ता भनेर पत्रकार राजकुमार घिमिरेलाईपनि पक्राउ गरेको छ । घिमिरे सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि तथा पोखरापाटी डटकमका सञ्चालक हुन् । घिमिरेलाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला नेपाल पत्रकार महासंघको मिसन टोलीले पोखरामा प्रहरी प्रशासनसँग छलफल गरी रिहा गराएको थियो ।

प्रहरीले जनसभा स्थलबाटै नेकपाका कार्यकर्ता तथा पत्रकार घिमिरेलाई पक्राउ गरेको बताएपनि नेकपा कास्कीले भने जनसभाबाट फर्किदै गरेकालाई बाटोमा पक्राउ गरेको दाबी गरेको छ । बाटोमा हिंडिरहेका बेला घेरा हालेर उनीहरुलाई पक्राउ गरेको नेकपा कास्कीको भनाई छ ।

प्रतिकृया दिनुहोस्