News Portal

ओलीको निर्णय नमान्ने माधव नेपाल पक्षको निष्कर्ष

रातोपोस्ट संवाददाता
७८४ पटक

काठमाडौं, २८ फागुन  । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले आज गरेका निर्णय नमान्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री ओली पक्षका केन्द्रीय सदस्यको बैठकले नेपाल पक्षका पदाधिकारीको जिम्मेवारी खोसेका थियो। त्यस्तै, रामबहादुर थापालगायत माओवादीबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।

ओली पक्षको बैठकले एमालेको आगामी महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय समेत गरेको थियो। बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यलाई भने बोलाइएको थिएन्। त्यसपछि बसेको नेपाल पक्षको स्थायी कमिटीको आकस्मिक बैठकले ओली पक्षले गरेका निर्णय नमान्ने निष्कर्ष निकालेको हो। बानेश्वरको अर्याल होटलमा बसेको बैठकले ओली पक्षले गरेका निर्णय मान्न नसकिने निष्कर्ष निकालेको नेता रघुजी पन्तले बताए।

नेता पन्तले भने, ‘ओलीको निर्णय मान सकिन्न। ओली पक्षले गरेको निर्णय पार्टी विधान र विधिविपरीत छ।’ ओली पक्षका निर्णयले एमालेलाई विभाजनतिर लैजाने उनको भनाइ छ। उनले भने, ‘यसले पार्टीलाई विभाजनतिर लैजान्छ। केन्द्रीय कमिटी बैठक राखिएको छैन। ओली पक्षको निर्णय मान्दैनौँ।’ बैठकमा एमाले वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाललगायत स्थायी कमिटी सदस्यहरु सहभागी थिए। बैठकमा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा समेत छलफल भएको जनाएकाे छ।

प्रतिकृया दिनुहोस्