News Portal

नक्कली स्टिकर टाँसेर महंगोमा औषधि बिक्री गर्ने २ पक्राउ

रातोपोस्ट संवाददाता
९६८ पटक

झापा, २५ वैशाख । सस्तो औषधिलाई महंगो औषधिको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधि सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–४ स्थित साथी मेडिकल औषधि पसलका सञ्चालक विराटनगर–१० असोक चोकका २६ वर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर–१६ रानी का २३ वर्षीय श्रवणकुमार यादव छन् ।

शुक्रबार दिउसो १२ बजे सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले सञ्चालन गरेको साथी मेडिकल औषधि पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधि ४ बट्टा (सिसी) र रेम्डिसीवर नामक औषधि १ बट्टा (सिसी) फेला पारेको हो । आलमले स्टासेफ औषधि ९० मा खरिद गरि रेम्डिसीवर औषधिको नक्कली स्टिकर टाँस गरी ८ हजार सम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमबाट खुलेको छ । उनले उक्त औषधिमा टास्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएको हो ।

सो क्रियाकलापमा संलग्न अर्का यादव भने यस अघि २०७७ कार्तिक २५ गते विराटनगर–११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार रहेका थिए । यादवलाई शुक्रबार विराटनगर–१६ रानी आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अघिबढाईएको छ । त्यस्तै यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अघि बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्