News Portal

युक्रेनलाई हराउँदै अष्ट्रिया पहिलोपटक अन्तिम १६ मा

रातोपोस्ट संवाददाता
४१३ पटक

एजेन्सी, ८ असार । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत समूह सी अन्तर्गत अन्तिम खेलमा युक्रेनलाई पराजित गर्दै अष्ट्रियाले पहिलोपटक अन्तिम १६ मा स्थान पक्का गरेको छ । बुकारेस्टस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा अष्ट्रियाले क्रिस्टोफ बाउमगार्टनरको पहिलो हाफको गोलमा १-० को जित दर्ता गर्यो । खेलको २१ औं मिनेटमा कप्तान डेविड अलाबाको असिस्टमा बाउमगार्टनरले गोल गरेका थिए । अलाबाले प्रहार गरेको कर्नरमा बाउमगार्टनरले डिफेन्डर जबर्नीको चुनौतीलाई पछि पार्दै गोल गर्न सफल रहेका थिए ।

त्यसअघि १६ औं मिनेटमा मार्को अर्नाउटोभिचको प्रहार डिफेन्डर मात्भिएन्कोलाई लाग्दै बाहिरिएको थियो । ४२ औं मिनेटमा अर्नाउटोभिचले नै अग्रता दोब्बर पार्ने अवसर खेर फाले । युक्रेनको कर्नरबाट अघि बढेको काउन्टर अट्याकमा अर्नाउटोभिचले अन्तिम प्रहारलाई पेनाल्टी क्षेत्र भित्रबाट पोस्टतर्फ प्रहार गर्न सकेनन् । पहिलो हाफमा अष्ट्रियाको मिडफिल्डले उच्च प्रदर्शन गरेको थियो । दोस्रो हाफमा युक्रेनले गोलका लागि राम्रो अवसर सिर्जना नै गर्न सकेन । ८७ औं मिनेटमा यारेमचुकले खेल बराबर गर्ने अवसर पाएपनि उनको प्रहारले गोलरक्षकलाई कुनै कठिनाइ उत्पन्न गरेन । यारेमचुक नै इन्ज्युरी समयमा अफसाइड ठहर भएपछि युक्रेनको सम्भावना सकिएको थियो ।

यस नतिजाले अष्ट्रिया अंक तालिकाको दोस्रो स्थानमा उक्लँदै अन्तिम १६ मा प्रवेश गरेको छ । अष्ट्रियाको ३ खेलमा ६ अंक तथा युक्रेनको ३ खेलमा ३ अंक छ । युक्रेन तेस्रो स्थानमा रहेपनि उत्कृष्ट ४ टोलीको माध्यमबाट अर्को चरणमा अघि बढ्ने झिनो सम्भावना भने बाँकी छ । अष्ट्रियाले अब अन्तिम १६ मा इटालीको सामना गर्नेछ । इटाली समूह ए को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो । इटालीले अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३० खेल अपराजित रहँदै कीर्तिमान समेत बनाएको थियो ।

प्रतिकृया दिनुहोस्