News Portal

न्यूनतम पारिश्रमिक नदिने निर्णयप्रति काँग्रेसको आपत्ति

रातोपोस्ट संवाददाता
७३५ पटक

झापा, १५ असार । झापाकाे भद्रपुर नगरपालिकाले संघीय सरकारले यस वर्षबाट तय गरेको न्यूनतम पारिश्रमिक शिक्षक कर्मचारीलाई नदिएको भन्दै नेपाली काँग्रेसले आपत्ति जनाएको छ । भद्रपुर नगरपालिकाले बाल शिक्षक तथा विद्यालयमा कार्यरत कर्मचारीका लागि संघीय सरकारले बजेटमार्फत तोकेको न्यूनतम पारिश्रमिक १५ हजार कार्यान्वयनमा नल्याउने भएपछि काँग्रेसले खवरदारी गर्दै विरोध जनाएको हो ।

नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल तथा भद्रपुर नगर सभापति मोहन महर्जनले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ—संघीय सरकारले बजेट भाषणमार्फत देशभरिका बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीको मासिक तलब न्यूनतम १५ हजार रुपैयाँ पुर्याउने र यसका लागि ८ हजार रुपैयाँ संघीय सरकारले प्रदान गर्ने भई ७ हजार रुपैयाँ स्थानीय तहले थप गर्नुपर्ने घोषणा गरेता पनि भद्रपुर नगरपालिकाले नगरसभामार्फत आउने आर्थिक वर्षका लागि पारित गरेको बजेटमा भने १५ सय रुपैयाँ मात्र थप गर्ने घोषणा गरेकोले त्यसको विरोधमा नेपाल शिक्षक महासंघ भद्रपुरको नेतृत्वमा हुँदै आएको बाल शिक्षक तथा कर्मचारीहरुको आन्दोलनप्रति हाम्रो पार्टी नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

चर्को श्रम शोषणमा कार्यरत बाल शिक्षक तथा कर्मचारीहरुको आन्दोलनप्रति संवेदनशील कुनै पनि व्यक्ति वा पक्ष सहानुभूतिशील नहुन सक्दैन ।’ भद्रपुर नगरपालिकाका सामुदायिक विद्यालयहरुमा कार्यरत बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरुको न्यूनतम तलब संघीय सरकारले निर्धारण गरेबमोजिम हुनुपर्ने पार्टीको धारणाबमोजिम आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभामा प्रष्टसँग राखेको विज्ञप्तिमा स्मरण गराइएको छ ।

प्रतिकृया दिनुहोस्