News Portal

मन कुमार एफसीले जित्याे फुटसल प्रतियोगिताको उपाधि

रातोपोस्ट संवाददाता
८६५ पटक

झापा, २३ कार्तिक । झापाको धुलाबारीमा सम्पन्न फुटसल प्रतियोगिताको उपाधि मन कुमार एफसीले उचालेको छ । मेचबीनगर १० स्थित धुलाबारीमा सम्पन्न फाइनल खेलमा धुलाबारी वरियर्सलाई ७–४ ले गोल अन्तरले हराउँदै मन कुमार एफसीले उपाधि हात पारेको हो । शुरूवाती समय देखि नै निकै रोमाञ्चक बनेको खेलमा मन कुमार एफसीलाई उपाधिका लागि ७ गोल पर्याप्त बन्यो भने धुलाबारी वरियर्सले पनि ४ गोल गर्यो ।

यस्तै प्रतियोगिताको उपाधिसंगै मन कुमार एफसीले नगद ३० हजार रुपैयाँ र ट्रफी पनि प्राप्त गरेको छ भने उपविजेतामा सिमित बनेको धुलाबारी वरियर्सले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । जिल्लाभरीका १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा ब्यतिगत विधातर्फ एफसीका मनकुमार लिम्बु बेस्ट प्लेयर अफ द टुर्नामेन्ट घोषित भए भने धुलाबारी वरियर्सका आकाश खडका उत्कृष्ट गोल किपर र युनाइटेड ब्रदर्सका रोहित क्षेत्री ७ गोल गर्दै सर्वाधिक गोलकर्ता घोषित भए ।

प्रतियोगिताको फाइनल खेल अघि मैत्रीपुर्ण खेल पनि भएको थियो । जसमा इलाका प्रहरी कार्यालय धुलाबारी र काँकरभिट्टाको संयुक्त टिम र मेची उद्योग बाणिज्य धुलाबारीको टोली बिच मैत्रीपुर्ण भयो । कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ रहेका थिए भने विषेश अतिथि मेचीनगर- १० का वडा अध्यक्ष सुवेश कुमार पनेरु (सुदेय) इलाका प्रहरी कार्यालयका काँकरभिट्टाका प्रहरी नायब उपरिक्षक सुनिल दाहाल, इलाका प्रहरी कार्यलय धुलाबारीका प्रमुख बिकास राई र मेची उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

विबेक बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिपक वागदासले गरेका थिए । कार्यक्रममा नेपाली राष्ट्रिय फुलबल टिमका खेलाडी पुजन उपरकोटीलाई सम्मान पनि गरिएको थियो ।

प्रतिकृया दिनुहोस्