News Portal

हेलिकप्टर दुर्घटनामा भारतीय ‘चिफ अफ डिफेन्स’ रावतसहित १३ जनाको मृत्यु

रातोपोस्ट
६८७ पटक

एजेन्सी, २२ मंसिर । भारतमा बुधबार एउटा सैन्य हेलिकप्टर दुर्घटना हुँदा ‘चिफ अफ डिफेन्स’ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो ‘चिफ अफ डिफेन्स’ हुन् । बुधबार तमिलनाडूमा सैनिक हेलिकप्टर दुर्घटना भएको हो । सो हेलिकप्टरमा १४ जना सवार थिए । दुर्घटनामा हेलिकप्टरका पाइलट भने घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनरल बिपिन रावतको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनाप्रति धेरै दुःख लागेको छ जसमा जनरल बिपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानलाई गुमाउनु परेको छ । उहाँले पूरा लगनका साथ भारतको सेवा गर्नुभएको छ । मृतकका परिवारजनप्रति मेरो समवेदना छ ।’

भारतीय वायुसेनाका अनुसार एमआई–१७ भी ५ हेलिकप्टर दुर्घटना भएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले बुधबार दिउँसो नै विपिन रावतको घरमा पुगेर उनका परिवारजनसँग भेट गरेका थिए । जनरल रावत १ जनवरी २०२० मा देशको पहिलो चिफ अफ डिफेन्स नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस्