News Portal

मेचीनगरले उचाल्यो अध्यक्ष कप क्रिकेटको उपाधि

रातोपोस्ट संवाददाता
६१० पटक

झापा, २३ मंसिर । झापाको झापा गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगितामा झापा गाउँपालिकालाई पराजित गर्दै मेचीनगरले उपाधि कब्जा गरेको छ। झापा गाउँपालिका-७ को जनकल्याण माविको मैदानमा बिहीबार सम्पन्न फाइनल खेलमा मेचीनगरले ९२ रनले झापालाई पराजित गरेको हो। टस हारेर ब्याटिङ गरेको मेचीनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

२०१ रनको विजयी लक्ष्य पछ्याएको झापाले १७ दशमलव १ ओभरमा सबै विकेट गुमाई १०८ रन मात्र बनाउन सक्यो । मेचीनगरको ब्याटिङतर्फ क्षितिज पोर्तेलले ६५ बलमा सेन्चुरी पुरा गर्दै १०२ रन, सुरज केसीले २७ बलमा ४० रन र राजु विश्वकर्माले ४ बलमा ११ रन जोडे । झापाको बलिङतर्फ सज्जाद आलमले २ विकेट, प्रदीप कुमारले ३ विकेट र अङ्कित दासले २ विकेट लिएका थिए ।

त्यस्तै, दोस्रो इनिंगमा झापाको ब्याटिङमा दुखिया राजवंशीले २८ रन, सज्जाद आलमले १५ रन बनाए भने अरू व्याट्समेनहरुले दर्बिलो अङ्क जोड्न सकेनन् । बलिङतर्फ मेचीनगरका प्रेम सिंहले ३ विकेट, राज थापाले १ विकेट, राजु विश्वकर्माले २ विकेट र संदिप ढुङ्गानाले १ विकेट लिएका थिए ।

यो सँगै विजेता बनेको मेचीनगरले ४० हजार नगद सहित ट्रफी, मेडल, प्रमाणपत्र पाएको छ। त्यस्तै उपविजेता टिम झापाले नगद २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। खेलमा म्यान अफ द म्याच, वेस्ट व्याट्समेन र म्यान अफ द सिरिज मेचीनगरका क्षितिज पोर्तेल घोषित भए । त्यस्तै प्रतियोगितामा वेस्ट बलर बाह्रदशीका अल्मास आलम, वेस्ट विकेट किप्परमा झापाका सञ्जय पौडेल र फेयर प्ले अवार्ड सगरमाथा यूथ क्लब घोषित भएका थिए ।

झापा गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सगरमाथा यूथ क्लब तथा वडा नं-७ को संयुक्त आयोजनामा जारी प्रतियोगिताको समापन कार्यक्रममा क्लबका अध्यक्ष रोहित कर्णको अध्यक्षता र वडा नं-७ का वडाध्यक्ष नेत्रप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो भने समाजसेवीहरू सखीचन्द्र ठाकुर, तेज श्रेष्ठ, रोहित पोद्धार, बालकृष्ण सिटौलालगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्